कांग्रेसले जितेको दुधौलीको वडामा कम्युनिस्ट मेयरले गरे ‘मास्क’को राजनीति, नेकपाको पर्दाफास

सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिकाका मेयर घनश्याम रावतले राजनीतिक पूर्वाग्रही भएर मास्क वितरण गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट मेयरमा विजयी भएका रातवले नेपाली कांग्रेसले जितेको वडामा मास्क वितरणमा भेदभाव गरेका हुन् । उनले कांग्रेसले जितेको वडामा वडा कार्यालयमार्फत मास्क पठाउनुपर्नेमा आफ्नो पार्टीका कार्यकर्तामार्फत मास्क वितरण गराएर आलोचित बनेका छन् ।

एकद्वार नीतिबाट सहायता वितरण गर्ने निर्णय गराएका मेयर राउतले आफ्नै निर्णयलाई लत्याउँदै नेकपाका कार्यकर्तामार्फत मास्क तिवरण गरेपछि दुधौली नगरपालिकामा हँगामा भएको छ ।

वडा नम्बर १ मा मेयर राउतले २५ सय मास्क पठाएकाे दाबी गरेका छन् । २५ सयमध्ये करीव १५ सय मात्रै काम लाग्ने मास्क रहेको वडाध्यक्ष गोविन्द पहाडीले जानकारी दिए । मास्क राखिएकाे झाेलालाई सबैका सामू राखेर वडासचिव हेरम्बर अधिकारीले वितरण गरेकाे वडाध्यक्ष पहाडीले बताए ।

‘नगरपालिकाले पठाएको मास्कलाई वडा कार्यालयले टोल सुधार समितिलगायतका संस्थाहरूमार्फत वितरण गरिएको छ’, वडाध्यक्ष पहाडीले भने, ‘मास्क पुगेन भनेर मेयरसँग कुरा भयो । उहाँले म थप मास्क पठाइदिन्छु भन्नुभयो । तर, पठाउनु भएन ।’

मेयर राउतले नेकपाका नेता समेत रहेका कार्यपालिका सदस्य डिल्लीबहादुर भुजेलमार्फत मास्क पठाएर नेकपा नेता तथा कार्यकर्ताहरूलाई मात्रै मास्क वितरण गरेको आरोप छ ।

वडा नम्बर १ का वडाध्यक्ष पहाडीले एकद्वार नीतिबाट वडा कार्यालयमार्फत कुनैपनि सहायता वितरण गर्ने निर्णय भएको बताए । ‘नगरपालिकाले एकद्वार नीतिबाट सहायता वितरण गर्ने भन्ने अनि आफू खुसी वडा कार्यालयलाई बेवास्ता गरेर मास्क वितरण गर्न पाइँदैन’, वडाध्यक्ष पहाडीले भने, ‘यस्तो विपतको बेला राजनीतिक पूर्वाग्रही भएर कसैले पनि कार्य गर्नु हुँदैन । हामी सबै मिलेर काम गर्नुपर्छ ।’

राजनीतिक पूर्वाग्रही भएर आफूले मास्क वितरण नगरेको मेयर राउतले दाबी गरे । ‘मैले राजनीतिक पूर्वाग्रही भएर मास्क वितरण गरेको छैन’, उनले भने, ‘पहिला वडालाई पठाएर मास्क वितरण भयो । दोस्रो पटक कार्यपालिका सदस्य डिल्लीबहादुर भुजेलमार्फत मास्क वितरण गरिएको हो ।’ भुजेल नेकपाका नेता समेत हुन् ।

दुधौली नगरपालिकाको पैसाले वितरण गरेको मास्कमा मेयर र नेकपाले यस्तो लेखेर प्रचार गरेका छन्

आफ्नै निर्णय विपरित वडा कार्यालय र वडाध्यक्षलाई बेवास्ता गरेर नेकपाका नेता अर्थात कार्यपालिका सदस्यमार्फत किन मास्क वितरण गर्नुभयो भन्ने जिज्ञासामा मेयर राउतले आलटाल जवाफ दिए । उनले भने, ‘कार्यपालिका सदस्य पनि त्यही वडाको हो । जसले बाँडे पनि हुन्छ ।’

नगरपालिकाको मास्कलाई नेकपाका स्थानीय नेताहरूले आफ्नै पार्टीको पैसाबाट किनेर वितरण गरिए सरह प्रचारबाजी गरेका छन् । नेकपाका स्थानीय नेता ध्रुबप्रसाद घिमिरेले नगरपालिकाबाट वितरण गरिएको मास्कलाई नेकपाले वितरण गरे सरह प्रचारबाजी गर्दै आएको आरोप छ ।

Published : Wednesday, 2020 April 1, 3:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया