भारतमा नेपालीहरू अलपत्र परेका बेला विद्यादेवी भण्डारीलाई अमेरिकाका नेपालीहरूको चिन्ता

काठमाडौं । दार्चुला जिल्ला प्रवेश गर्न खोजेर भारतीय भूमिमा अलपत्र परेका चार सयभन्दा धेरै नेपालीहरू अलपत्र परेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकामा रहेका नेपालीहरूलाई सुरक्षित बस्न आग्रह गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले अमेरिकामा रहका नेपालीहरू चिन्ता गर्दै उनीहरूलाई सुरक्षित बस्न भनेकी छिन् । अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुनकुमार कार्कीलाई फोन गरेर अमेरिकामा रहेका नेपालीहरूका विषयमा चिन्ता जनाएको सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ ।

राससका अनुसार राष्ट्रपति भण्डारीले अमेरिकामा कोभिड–१९ को संक्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।

कोभिड–१९ को संक्रमण अमेरिकामा द्रुतगतिमा फैलिरहेको र धेरैको ज्यान समेत गएको अवस्थामा राष्ट्रपति भण्डारीले अमेरिकामा रहेका नेपाली समुदायको अवस्थाबारे जानकारी लिनुभएको राजदूत डा.कार्कीले बताए ।

राजदूत कार्कीले अपिल जारी गर्दै राष्ट्रपति भण्डारीले टेलिफोन गरी चासो र चिन्ता व्यक्त गरेको र नेपाली समुदायलाई सचेत र सुरक्षितभई बस्न आग्रह गरेको उल्लेख छ ।

राष्ट्रपति भण्डारीले मृतकका परिवारप्रति समवेदना तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको अपीलमा जनाइएको छ ।

यता, स्वदेश फर्कने क्रममा भारतको उत्तराखण्डको मदकोट क्षेत्रमा मजदुरी गर्न गएका एक नेपालीको गए राति मृत्यु भएको छ ।

मार्मा गाउँपालिका वडा नम्बर २ ठुलथला घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो ।

लकडाउनका कारण घर फर्किन लागेका ठगुन्नाको मदकोट झोलुङ्गेपुलमा मृत्यु भएको परिवारले जनाएको छ ।

त्यसैगरी, दार्चुला जिल्लाको पारीपट्टि भारतीय भूमिमा ८ सय जना महाकाली नदीको बगरमा भारतीय क्षेत्रमा फसेका छन् । उनीहरूलाई स्वदेश फिर्ता ल्याउने विषयमा राष्ट्रपति भण्डारीले केही बोलेकी छैनन् । तर, अमेरिकामा रहेका नेपालीहरूको चिन्ताले भण्डारीलाई भतभति पोलेको भनेर आलोचना भएको छ । राष्ट्रपति भण्डारीको आलोचना गर्नेमा उनकै दल नेकपाका नेताहरू समेत छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीले राष्ट्रपति भण्डारीलाई अमेरिकामा रहेका नेपालीहरू चिन्ता नलिन सुझाव दिएकी छिन् ।

‘महामहिम ! अमेरिका, क्यानडा, युरोप, अष्ट्रेलिया, जापान, कोरिया लगायत विकसित मुलुकका नेपालीको चिन्ता नगरी बक्स्योस्’, नेतृ झाँक्रीले भनेकी छिन्, ‘नेपालका बिभिन्न जिल्लामा निर्माणको काम गर्न गएका मजदूरहरू लकडाउनमा अलपत्र परेकाहरू समस्यामा छन् । ब्यस्थापनको लागि स्थानीय तहलाई निर्देशन दिने की ?’

Published : Wednesday, 2020 April 1, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया