स्वास्थ्य मन्त्रालयका प्रवक्ताकै गृहजिल्लामा नर्सले चुकाइन् मूल्य

घोराही । दाङ जिल्लास्थित घोराही उपमहानगरपालिकाको वडा नम्बर २ का वडासचिव नारायण आचार्यले नर्सलाई कोरोना भाईरसको संक्रमण फैलाउने आशंकामा घरबाट निकालेपछि कारबाहीमा परेका छन् ।

वडासचिव आचार्यले २० वर्षीया नर्स सृजना खड्कालाई घरबाट निकालेपछि आलोचना भएको छ । सरकारी कर्मचारीले नै नर्सलाई घरबाट निकालेपछि उनको आलोचना भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ गणेपुर घर भइ हाल घोराहीमा रहेको बुद्ध इन्टरनेसनल हस्पिटलमा कार्यरत नर्स खड्कालाई वडासचिव आचार्यले घरबाट निकालेपछि देशभरि हँगामा भएको छ ।

वडासचिव आचार्यको घोराही उपमहानगरपालिका वडा नम्बर १८, नवलपुरस्थित घरमा मंसिरदेखि साथीहरूसंगै मिलेर नर्स खड्का भाडामा बस्दै आएकी थिइन् । खड्कालाई घरमा बस्न नदिएपछि हाल उनी घोराहीमा रहेको एक होटेलमा बस्दै आएकी छिन् ।

लकडाउनको बेला खड्काले डेराबाट हस्पिटलमा आवत जावत गरेर काम गर्दै आएकी थिइन् ।

‘म पूर्ण सुरक्षित विधि अपनाएर मात्रै काम गर्छु । मेरो कारणले कोरोना भाइरसको संक्रमण कसैलाई सर्दैन भन्ने विश्वास दिलाउन खोज्दापनि उहाँले मान्नु भएन’, खड्काले भनिन्, ‘केही उपाए नलागेपछि चैत १५ गतेदेखि गौरीगाउँस्थित बुढाथोकीको होटेलमा बस्दै आएकी छु ।’

वडासचिव आचार्यले भने त्यो कुरा स्वीकार गर्न तयार भएनन् । नर्स खड्का आफ्नो घरमा भाडामा बस्दै नबसेको भन्ने जस्ता दाबी सुरुमा गरेको भएपनि पछि उनले आफूले नभइ आफ्नी पत्नी कमला आचार्यले सृजनालाई घरमा नआउने आग्रह गरेको बताएका छन् ।

नर्सलाई घरबाट निकालेको अभियोगमा प्रहरीले वडासचिव आचार्यलाई मंगलबार पक्राउ गरेको छ । पक्राउ परेका वडासचिव आचार्यलाई छुटाउन वडाध्यक्ष जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाको गृहजिल्ला दाङमा नर्सलाई नै कोरोना भाइरसको संक्रमण सार्ने भन्दै निकाला गरेपछि देशभरि हँगामा भएको छ ।

Published : Tuesday, 2020 March 31, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया