सहायता वितरण गर्न गाउँ गएका कांग्रेस सांसदलाई प्रहरीद्वारा दुर्व्यवहार, हिरासतमा राख्यो

रसुवा । रसुवा जिल्लामा कोरोनाविरुद्ध लड्न राहत बाँड्न गाउँ गएका नेपाली कांग्रेसका प्रदेश सांसदमाथि रसुवा प्रहरी प्रशासनले रोक लगाएको छ ।

गोसाइँकुण्ड गाउँपालिकास्थित बृद्धिमबाट सदरमुकाम धुन्चे फर्कदै गरेका प्रदेश सभा सदस्य प्रेम तामाङलाई आइतबार राति करीब ८ बजे स्याफ्रुबेशी प्रहरीले रोक लगाएको हो ।

हिरासतमा राख्ने माथिको आदेश छ भन्दै स्याफ्रुबेशी प्रहरीले पास थुतेर करीब एक घण्टा हिरासतमा लिएको सांसद तामाङले बताए ।

‘जनताको माग अनुसार मास्क र साबुन पुर्‍याउन बृद्धिम गएको थिएँ’, उनले भने, ‘बृद्धिममा पनि मान्छे जम्मा गरेको थिइन, त्यहाँको वडाध्यक्ष दुईजना वडा सदस्यलाई यो सामान भिडभाड नगरी जनताको घरघरमा पुर्‍याइदिनुस् है भनेर फर्कदै थिएँ ।’

‘स्याफ्रुबेशीमा प्रहरीले गाडी रोक्यो, त्यहाँ सेनाको मेजर र प्रहरीको सई थिए’, बागमती प्रदेशका सांसद तामाङले भने, ‘उनीहरूले रोकेर पास दिनुस् भने मैले दिए । अनि केही समयमा किन पास रोक्नुभएको भन्दा तपाईलाई हिरासतमा राख्ने आदेश छ भन्नुभयो ।’

माथिको आदेश भन्दै प्रहरीले हिरासतमा लिएपछि प्रदेश सांसद तामाङले जिल्लाको सिडियो अर्जुन भण्डारीलाई फोन गरेको बताए । ‘शुरुमा यस्तो भयो के होभन्दा सिडियोले ए हो र भन्ने कुरा मात्र गर्नुभयो’, उनले भने, ‘केही समयपछि फोन गर्दा सीडीओले फोन उठाउनुभएन ।’

‘मलाई करीव एक घण्टा प्रहरी चेकपोष्टमा रोकेर राखियो’, उनले भने, ‘अन्तिममा सवारी पास चाहिँ उहाँहरूले राख्नुभयो । अनि तपाई जानुस् भनेर मलाई पठाइयो ।’

ज्यालादारी गरेर खाने मान्छे लकडाउनको कारणले गर्दा भोको परेपछि उनीहरूलाई पेट भर्ने सामान पु¥याउँदा पनि अवरोध कसको स्वार्थमा गरिएको हो भनेर सांसद तामाङले प्रश्न गरेका छन् ।

‘दुःखी जनतालाई सेवा गर्न रोकिएर घरमै थुनिएर बस्न पर्ने भो’, तामाङले भने, ‘मैले मेरो जनताको दुःखमा साथ दिन नपाउने भएँ ।’

‘दुःखको बेलामा एउटा जनप्रतिनिधिले आफनो मतदाताहरूलाई सहयोग गर्न नदिने यो कस्तो राज्य संयन्त्र हो’, प्रदेश सांसद तामाङले भने, ‘यसमा राजनीति घुसेको छ ।’

स्याफ्रुबेशी प्रहरीको हिरासतपछि मुक्त भएका प्रदेश सांसद तामाङलाई सदरमुकाम धुन्चेस्थित शसस्त्र प्रहरीले पुन रोकेको थियो ।

नेपाली कांग्रेस सांसद मोहन आचार्य र तामाङले सो क्षेत्रमा मास्क, सावुन, सेनिटाइजर र दैनिक ज्यालादारी गरेर हातमुख जोर्ने परिवारलाई खाद्यान्न सहयोग गर्दै आएका छन् । प्रहरीको अवरोधले सो काम रोकिएको छ । ुर

Published : Monday, 2020 March 30, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया