कोरोना नियन्त्रणमा सरकारको सुस्त र लाज छोप्ने प्रवृत्तिः हुमागाइँ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय श्रमिक तथा ट्रेड युनियन विभागका संयोजक शिवप्रसाद हुमागाइँले पहिलो व्यक्ति संक्रमित देखिएको झन्डै २ महिना भै–सक्दा पनि सरकारी तयारी अति सुस्त र लाज छोप्ने प्रवृत्तिको देखिएको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका संयोजक हुमागाइँले कोरोना भाइरसको संक्रमण रोकथाममा नेपाली नागरिकप्रति घोर अपमान र जनता प्रतिको गैर–जवाफदेहिताको नमूना सरकारले देखाएको प्रष्ट भएको बताएका छन् । उनले यस्तो विषम परिस्थितिमा जनताको स्वास्थ्यप्रति गम्भीर हुँदै कार्यहरू गर्न आग्रह गरेका छन् ।

‘हल्का सुझाव प्रसारण गर्ने, बैठक र निर्णय बाहिर ल्याउने जस्ता नियमित कार्यले मात्र जनता विश्वस्त हुन सक्ने परिस्थिति बनेको छैन त्यसैले ‘महामारी विरुद्ध राष्ट्रिय महाअभियान २०७६’ घोषणा गरि आवश्यक सामाग्री तत्काल उपलब्ध गराउने र जोहो गर्ने व्यवस्था गरिनुपर्छ’, हुमागाइँले भनेका छन्, ‘मेडिकल टिमलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप आवश्यक उपकरण, औजार र सामाग्रीको व्यवस्थापन गरि ‘सुरक्षित क्वारेन्टाइन’ को निर्माण र राख्ने व्यवस्था गरिनुपर्छ ।’

‘उपचारमा खटिने स्वास्थ्यकर्मीहरूलाई हालसम्म पनि पीपीई उपलब्ध गराउन नसक्नु, थोरै उपलब्ध पीपीई पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुपको नहुनु र त्यस्ता अविश्वासनीय उपकरण र सामाग्रीको आधारमा डाक्टर, नर्सलगायत स्वास्थकर्मीलाई उपचारमा खटाउने कार्यले संक्रमित हुन बाँकी समाजलाई नै कहालीलाग्दो रुपमा संक्रमित बनाउनु हो’, विज्ञप्तिमा भनिएको छ, ‘पर्याप्त मात्रामा उच्च गुणस्तरको पीपीइ उपलब्ध गराउनु पर्दछ ।’

‘यस्तो महामारीको प्रकोपको रुपमा अघि बढेको रोग विरुद्धको लडाईँको अग्र भागमा उभिने, होमिने र उपचारमा खटिने स्वास्थ्यकर्मीहरूनै हुनु, त्यसैले स्वास्थ्यकर्मीलाई ‘म नागरिकको स्वास्थको खातिर जवाफदेही र संवेदनशील छु’ भन्ने भावना जगाई कार्य गर्न–गराउन ‘स्वास्थ्यकर्मी प्रोत्साहन प्याकेज’ घोषणा गरिनुपर्छ’, हुमागाइँले भनेका छन् ।

‘सबै जिल्ला अस्पतालमा प्रशस्त मात्रामा पुग्नेगरी स्तरीय कोरोना भाइरसको परीक्षण गर्ने किट तत्काल व्यवस्था गरिनुपर्छ । नेपालमा लाजमर्दो गरी नगन्य संख्यामा केन्द्रमा मात्र परीक्षण भईरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा आइपर्न सक्ने सबै परिस्थितिको मुल्यांकन र जिम्मेवारी बोध गरि ‘हाम्रो स्वास्थ हाम्रो साबधानी’ रणनीति बनाई आवश्यक उपकरण, औषधि, सघन उपचार कक्ष, भेन्टिलेटर आदिको तयारी गरिनुपर्छ ।’

‘महामारी नियन्त्रण गर्नका लागि राष्ट्रिय योजना कार्यन्वयन गर्ने सन्दर्भमा स्वास्थकर्मीहरूलाई उपचारमा एकरुपता कायम गराउन तत्काल कार्यशाला, सेमिनार, गोष्ठी र ट्रेनिङ सञ्चालन गरिनुपर्छ’, संयोजक हुमागाइँले भनेका छन्, ‘कोरोना भाइरसका विरुद्ध प्रतिपक्ष दल लगायतका सबै राजनितिक दल, नागरिक समाज, सम्पुर्ण सुरक्षा निकाय, सरोकार सम्बद्द सबै पक्ष समग्रमा आम नेपाली नागरिकको एकताबद्ध साथ र सहयोग रहेतापनि, सरकार र स्वास्थ्य मन्त्री ज्यूको भावना जती सुकै पवित्र भएपनि कार्यदक्षता देखिएन । तसर्थ, स्वास्थ्य मन्त्रीज्यू, तपाईं या त तत्काल कार्यन्वयनमा जुट्नुहोस् खट्नुहोस् अन्यथा तपाईंले मार्ग प्रशस्त गर्नु नै राष्ट्र र जनताको हितमा हुनेछ ।’

‘नेपाली कांग्रेस ‘किसानको साथी, श्रमिकको पार्टी’को मूल उदेश्यमा समर्पित हुदै ‘श्रम शक्ति नै राष्ट्र शक्ति’ भन्ने भावनाले अभिप्रेरित भै मजदुर, श्रमिक र न्यून आए भएका जनताको सन्दर्भमा तत्काल प्याकेजमा राहत उपलब्ध गराउन सुझावहरू पेश गर्दछु’, संयोजक हुमागाइँले विज्ञप्तिमा भनेका छन् ।

‘सरकारले लकडाउन र सबै क्षेत्र बन्द घोषणा गरेसंगै औधोगिक कलकारखाना, व्यापार व्यवसाय, सम्पुर्ण कार्यालयहरू बन्द भए’, उनले भनेका छन्, ‘बन्द र लकडाउन भएपछि अलपत्र र अप्ठेरोमा परेका स्वदेश तथा विदेशमा काम गर्ने मजदुर, श्रमिकहरूलाई सुरक्षित तवरले गन्तव्यसम्म पुर्‍याउने व्यवस्था हुनुपर्छ ।’

‘कम आय भएका, दैनिक ज्यालादारी गर्ने मजदुर, श्रमिक र आमनागरिकलाई वर्गीय तहमा निर्धारण गरि सबै तहका सरकारको प्रभावकारी समन्वयमा ‘निशुल्क र सस्तो शुल्क’ राहत प्याकेजको व्यवस्था गरिनुपर्छ’, कांग्रेस नेता हुमागाइँले भनेका छन्, ‘लकडाउन लम्बिदै जादा आइपर्न सक्ने खाद्य तथा अत्यावश्यक संकटबाट बच्न ‘खाद्य तथा अत्यावश्यक सामाग्रीको जोहो गर्ने, भण्डारण गर्ने र वितरण गर्ने विधि र वातावरण’ बनाउनुपर्छ ।’

‘न्यून आय भएका व्यक्ति, श्रमिक र मजदुरहरूका लागि ‘पूर्ण राहत प्याकेज’को व्यवस्था गरिनुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणको उच्च जोखिमको यस समयमा सरकारी एवम् उधोग वाणिज्य संघ मार्फत सुरक्षात्मक उपाय सहितका ‘अनलाइन सेवा, सहुलियत घुम्ती सेवा’ को व्यवस्था गरिनुपर्छ ।’

‘विपन्न एवम् मजदुरको छोराछोरीको हकमा आसन्न शैक्षिक सत्रको ‘अध्ययन शुल्क मिनाहा’ गरिनुपर्छ’, हुमागाइँले भनेका छन्, ‘रोजगारीका लागि विदेशमा रहनु भएका दिदिबहिनी दाजुभाईहरुको चाहना र माग अनुसार नेपाल सरकार जिम्मेवार अभिभावक बनोस् ।’

‘स्वास्थकर्मी, सुरक्षाकर्मी, श्रमिक तथा मजदुरका आवश्यकता अधिकार र हितका सवालमा नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभाग हरतवरले साथमा रहेर कार्यगर्ने विश्वास दिलाउँदै श्रमिक र मजदुरले मुलुक निर्माणमा पुर्‍याउनु भएको महत्वपूर्ण योगदानका प्रति विभाग उच्च सम्मान प्रकट गर्दछ’, उनले भनेका छन्, ‘सरकारले पनि उच्च सम्मान प्रकट गर्न माथी उल्लेखित बुँदाहरूलाई तत्काल कार्यन्वयनका लागि जोडदार माग गर्दछु ।’

Published : Sunday, 2020 March 29, 1:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया