डा.कोइरालाद्वारा उच्च मनोबलले काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना भाइरस संक्रमणको महामारीका बेला उच्च मनोबलका साथ काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।

महामन्त्री डा.कोइरालाले आइतबार विज्ञप्ति जारी गरेर कुनैपनि चिकित्सक निश्चित भत्ताभन्दा मानवीय भावनाले बिरामीको उपचारमा अभिप्रेरित हुने बताए । उनले चिकित्सकको मानवीय भावना, समर्पण र साहसले नै कोरोना भाइरसको महामारीबाट बाहिर निस्कन सक्ने बताएका छन् ।

‘म नेपालभरिका सबै स्वास्थकर्मीमा आजको यो प्रतिकुल परिस्थितिमा उच्च मनोबल साथ कार्य गर्न एक चिकित्साकर्मी समेतका नाताले अपील गर्दछु’, उनले भनेका छन् ।

डा.कोइरालाले स्वास्थ्यकर्मीका लागि अनिवार्य पीपीईको प्रवन्ध समयमै गर्न सरकारलाई आग्रह गरेका छन् । ‘यथाशीघ्र देशव्यापी रूपमा पीपीई पुर्‍याएर सम्भावित संक्रमितको परीक्षण एवं संक्रमितको उपचारमा स्वास्थ्यकर्मीको मनोवल उच्च बनाउन म सरकारसँग अनुरोध गर्दछु’, डा.कोइरालाले भनेका छन् ।

उनले कोरोना भाइरस रोकथामका लागि यसको धेरैभन्दा धेरै परीक्षण हुनुपर्ने बताएका छन् । उनले सातै प्रदेशमा परीक्षणको व्यवस्था मिलाउन ढिलाई नगर्न आग्रह गरेका छन् ।

नेपालमा कोरोना संक्रमित व्यक्ति घुलमिल भएको परिवारका सदस्य, छरछिमेकी एवं व्यक्तिगत साथी समूहको तत्काल परीक्षणको व्यवस्था मिलाउन पनि डा.कोइरालाले आग्रह गरेका छन् ।

संक्रमणको आशंका हुनासाथ घरबाटै सावधानीपूर्वक परीक्षण केन्द्रमा पु¥याउने व्यवस्था गर्न पनि कांग्रेसका महामन्त्री डा.कोइरालाले सरकारलाई आग्रह गरेका छन् ।

Published : Sunday, 2020 March 29, 12:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया