‘लकडाउन’ले मजदुरी गरेर खाने जनता भोकै भए, केही गराैँः कांग्रेस नेता मुसलमान

कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अतहर कमाल मुसलमानले कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनले अति विपन्न जनता समस्यामा परेको भन्दै राहतको उचित व्यवस्था गर्न माग गरेका छन् ।

कांग्रेस नेता मुसलमानले कोरोना भाईरसको संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउन उचित रहेको बताए । उनले मजदुरी गरेर दैनिक जीवन गुजारा गर्नेहरू समस्या समाधानमा ध्यान दिन सरकारलाई आग्रह गरे ।

‘कोरोना संक्रमणको पिरलोसँगै कोही भोको पेट मर्ने हुन कि भन्ने चिन्ता लाग्न थालेको छ’, उनले भने, ‘समयमा ती अति विपन्न परिवारका विषयमा सरकारले राहतको कार्यक्रम ल्याउनुपर्छ ।’

उनले मजदुरी गरेर दैनिक गुजारा गर्ने गरिब र बिपन्नलाई लकडाउनको पाँच दिन धान्न समस्या परेको बताए ।

‘लकडाउनको अवधि थपिने निश्चित जस्तै छ । अब थपिएको समयमा गरिब जनता कोरोनाभन्दा पनि खान नपाएर मर्ने अवस्था आउनेछ’, नेता मुसलमानले भने, ‘हामी सबै यो विषयमा जिम्मेवार हुन आवश्यक छ ।’

Published : Saturday, 2020 March 28, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया