कोरोना रोकथाममा कांग्रेसले दिएका सुझाव सरकारले कार्यान्वयन गर्ने

काठमाडौं । सरकारले नेपाली कांग्रेसले कोरोना भाइरसको नियन्त्रण र अति कमजोर आर्थिक अवस्था भएका सर्वसाधारणका लागि राहत दिनुपर्ने लगायतमा दिएको सुझावलाई कार्यान्वन गर्ने आश्वान दिएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कोरोना भाईरसको नियन्त्रण, जोखिम न्यूनीकरण तथा उपचारका लागि सरकारले अपनाउनुका साथै कार्यान्वयन गर्नुपर्ने महत्वपूर्ण विषयहरू समेटेर नेपाल सरकारद्वारा गठित नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाएका थिए ।

कांग्रेसले बुझाएको ज्ञापन पत्रबारे सरकार गम्भीर रहेको उपप्रधानमन्त्री पोखरेलले संसदीय दलका प्रमुख सचेतक खाँणलाई जानकारी गराएको कांग्रेसद्वारा शनिबार जारी प्रेस नोटमा उल्लेख छ ।

कांग्रेसबाट प्राप्त सुझावहरू उपयोगी र सान्दर्भिक समेत रहेको भन्दै पोखरेलले कांग्रेसको साथ एवं सहयोगले सरकारलाई थप उर्जाका साथै आत्माबल दिएको बताएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले ज्ञापन पत्रमार्फत दिइएको सुझावका लागि कांग्रेसलाई धन्यवाद दिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण, परीक्षण किट, पीपीई (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट) लगायतका आवश्यक सामग्री आइतबारसम्म नेपाल आइपुग्ने जानकारी गराएका छन् ।

उक्त स्वास्थ्य उपकरण र सामग्रीहरू सातै प्रदेशहरूमा यथाशीघ्र वितरण गरिने पोखरेलले कांग्रेसका प्रमुख सचेतक खाँणले बताएका छन् ।

Published : Saturday, 2020 March 28, 6:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया