बेल्जियमबाट बागलुङ आएकी २२ वर्षीया युवतीमा पनि कोरोनाको पुष्टि

काठमाडौं । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी २२ वर्षीया युवतीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शनिबार दिउँसो पत्रकार सम्मेलन गरी एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । ती युवती बागलुङ जिल्ला निवासी हुन् ।

ती युवती बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी थिइन् । उनलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको डा.देवकोटाले बताए ।

डा.देवकोटाले भने, ‘उहाँ चैत ४ गते (१७ मार्च) मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट आउनुभएको थियो । अहिले चिकित्सकको सम्पर्कमा हुनुहुन्छ । उहाँको अवस्था अहिले सामान्य छ ।’

यसअघि काठमाडौंमा संक्रमित भएकी अर्की १९ युवती र यी २२ वर्षीया युवती एउटै जहाजमा कतारको दोहाबाट काठमाडौं आएको देखिएको छ ।

शुक्रबार दुबईबाट आएका अर्का युवामा कोरोना भाइरस पुष्टि भएको थियो । उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

कोरोना पुष्टि भएका एक व्यक्तिको उपचारपछि डिस्चार्ज भइसकेका छन् । यी युवती कोरोना पुष्टि भएकोमा पाँचौँ हुन् ।

Published : Saturday, 2020 March 28, 4:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया