सभामुखको जिल्लामा कांग्रेसका केन्द्रीय सदस्य बस्नेतद्वारा मजदुरहरूलाई राहत वितरण

बाह्रबिसे । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले लक डाउनका कारण समस्यामा परेका सर्वसाधारणहरूलाई राहत सामग्री बितरण गरेका छन् ।

लकडाउन भएपछि अलपत्र परेका मजदुरहरूलाई नेपाली कांग्रेस क्षेत्रीय समिति सिन्धुपाल्चोकले शुक्रबार बाह्रबिसेमा चामल, साबुन, दाल, नुन, तेललगायतका सामग्रीहरू निःशुल्क वितरण गरेको हो ।

अरनिको राजमार्गको बाह्रबिसेदेखि भोटेकोशी गाउँपालिकाको खाकदलसम्म कार्यरत ५३ मजदुरहरूलाई खाद्यान्न लगायत दैनिक आवश्यक सामग्रीहरू प्रदान गरिएको थियो ।

कांग्रेस नेता बस्नेतले अलपत्र मजदुरहरूलाई अलपत्र परेको स्थानमै पुगेर खाद्यान्न लगायतकासामग्री वितरण गरेका हुन् ।

अलपत्र परेका सडक मजदुरहरूलाई प्रतिव्यक्ति १५ किलो चामल, एक किलो दाल, नुन, साबुन, मास्क लगायतका सामग्री वितरण गरिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले जानकारी दिएका छन् ।

क्षमादेवी ग्रुप र कांग्रेस क्षेत्रीय समितिले खाद्यान्न लगायतका सामग्री संकलन गरेर अलपत्र मजदुरहरूलाई सहयोग गरिएको राजकुमार बस्नेतले जानकारी दिए ।

सडकमा काम गर्ने मजदुरहरूलाई खाद्यान्न लगायत अन्य सामग्रीहरू वितरण गरिए पनि भूकम्पमा घरबार गुमाएका ८२ वर्षीया तुलसी श्रेष्ठलाई भने जस्तापाता लगायत घर निर्माणका लागि अन्य सामग्रीहरू समेत प्रदान गरिएको कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले जानकारी दिए ।

दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुरहरूलाई यस्तो अवस्थामा विशेष राहत प्याकेज घोषणा गर्ने कांग्रेसले यसअघि नै सरकारलाई आग्रह गरेपनि आफ्नो क्षेत्रमा सयौँ मजदुरहरू अलपत्र परेपछि सहयोग गरिएको कांग्रेस केन्द्रीय सदस्य बस्नेतले बताए ।

कांग्रेसले यसरी अलपत्र परेका मजदुरहरूलाई जिल्लाभर सहयोग गर्ने बस्नेतले बताए । आफ्ना सबै कार्यकर्ताहरूलाई जिल्लामा विपत्तमा परेका यस्ता मजदुरहरूलाई सहयोग गर्न समेत आफूले निर्देशन दिएको केन्द्रीय सदस्य बस्नेतले बताए ।

केही दिनअघि मात्रै बस्नेतको पहलमा स्वास्थ्य चौकीहरूमा पुगेर कोरोना भाइरस परीक्षणमा स्वास्थ्यकर्मीले उपयोग गर्ने सामग्री हस्तान्तरण गरेका थिए ।

सिन्धुपाल्चोक घर भएका प्रतिनिधि सभाको सभामुख रहेका अग्नि सापकोटाले राहत वितरणमा चासो नदेखाएको भनेर गुनासो आइरहेका बेला कांग्रेस नेता बस्नेतले मजदुरहरूलाई राहत वितरण गरेका छन् ।

Published : Friday, 2020 March 27, 5:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया