कोरोनाविरुद्ध काम गर्न नसकेपछि स्वास्थ्य मन्त्री र सचिव हटाउन ओलीलाई दवाव

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले कोरोना भाइरसको संक्रमणविरुद्ध काम गर्न नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र सचिव यादवप्रसाद कोइरालालाई हटाउन माग गरेका छन् ।

उपाध्यायले ट्वीट गर्दै स्वास्थ्य मन्त्री र सचिवले कोरोना भाइरसको संक्रमणविरुद्ध उचित काम गर्न नसकेको आरोप लगाएका हुन् ।

‘प्रधानमन्त्री खड्गप्रसाद ओलीसमक्ष जनताको तर्फबाट यो अर्जेन्ट अनुरोध खबर गरिदिनुप¥यो’, ट्वीटमा उपाध्यायले भनेका छन्, ‘निकम्मा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आजै हटाएर कुनै चिकित्साविज्ञलाई आजैदेखि स्वास्थ्यमन्त्री नियुक्ति गरिहालुन् ।’

उनले भनेका छन्, ‘कुनै स्वास्थ्यकर्मी कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मा दिइहालुन् ।’

मन्त्री र सचिवले जिम्मेवारी अनुसारको काम गर्न नसकेको भन्दै उपाध्यायले उनीहरूलाई हटाएर विज्ञहरूलाई नियुक्त गर्न माग गरेका हुन् ।

मन्त्री र सचिवले स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने सुरक्षाका सामग्री, औषधि, परीक्षण गर्ने किट आदि व्यवस्था गर्न नसकेको भनेर आलोचना हुँदै आएको छ ।

जिल्लाहरूबाट समेत कोरोना भाइरसको संक्रमणको परीक्षण काठमाडौं ल्याउनेपर्ने लगायतका व्यवस्था अहिलेसम्म कायम राखेको भन्दै स्वास्थ्यमन्त्री र सचिवको आलोचना भइरहेको छ ।

उनीहरूले कोरोनाविरुद्ध आवश्यक पर्ने सामग्री र बन्दोबस्तीको कार्य नगरेको पनि आरोप लाग्न थालेको छ ।

Published : Friday, 2020 March 27, 3:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया