कोरोना विशेष अस्पताल दाङमा सञ्चालन

घोराही । प्रदेश ५ सरकारले दाङको बेलझुण्डीमा सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुधबारदेखि सञ्चालनमा आएको छ ।

एक सय बेड क्षमताको बनाउने गरी बुधबार ३० बेडबाट उपचार शुरु गरिएको प्रदेश ५ का आन्तरिक मामला तथा कानूनमन्त्री कुलप्रसाद केसीले जानकारी दिए ।

कोरोनाको आशंका गरिएका तथा संक्रमितहरूलाई यहाँ आइसोलेसनमा राखेर स्वाब परीक्षणका लागि काठमाडौं पठाउने गरी अस्पताल स्थापना गरिएको छ ।

बुधबारदेखि नै कोरोनाको आशंका गरिएकाहरूलाई राख्न शुरु गरिएको अस्पतालले जनाएको छ ।

आयुर्वेद शिक्षण अस्पताललाई कोरोना विशेष अस्पतालका रुपमा स्थापना गरिएको छ ।

यस अस्पतालमा प्रदेश सरकारले जनशक्तिको व्यवस्थापन गरेको जनाएको छ ।

आयुर्वेद शिक्षण अस्पतालमा रहेका बेडहरू यथावत राखी अन्य बेड थपेर प्रदेशस्तरको कोरोना अस्पताल निर्माण गरिएको छ ।

प्रदेश पाँच सरकारले यसअघि रुपन्देही र बाँकेमा ३ वटा कोरोना विशेष अस्पताल सञ्चालन गरिसकेको छ ।

बेलझुण्डीमा स्थापना गरिएको अस्पतालमा काम गर्ने चिकित्सकसहितको टिमलाई सतप्रतिशत भत्ताको व्यवस्था गरिएको मन्त्री केसीले बताए ।

मन्त्री केसीले अहिलेसम्म प्रदेश ५ मा ३७ जनामा कोरोनाको परीक्षण गरिएकोमा सबै नेगेटिभ भेटिएको जानकारी दिए ।

योसंगै प्रदेश सरकारले आफ्नो प्रदेशमा चार वटा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।

Published : Wednesday, 2020 March 25, 6:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया