कोरोना नियन्त्रण गर्न ३२ टन औषधि र सामान आउँदै

काठमाडौं । सरकारले आगामी शनिबारभित्रमा कोरोना भाइरसको उपचारका लागि आवस्यक पर्ने ३२ टन औषधि नेपाल आइपुग्ने जनाएको छ ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग बुधबार बिहान कुरा गर्दै प्रधानमन्त्री कार्यलयका सचिव नारायण बिडारीले सरकारले औषधि लगायतका सामाग्रीहरू ल्याउन लागेको बताए । उनले कुनै पनि सामानको अभाव हुन नदिने तयारीका साथ काम भइरहेको जानकारी दिए ।

उनले १२८ वटा नाकामध्ये कतिपय नाकामा धेरै भिड भएकाले त्यो मार्ग भएर आउने व्यक्ति अनिर्वाय क्वारेन्टाइनमा बस्नै पर्ने बताएका छन् । भारत वा अन्य देशबाट आउने व्यक्ति अनिर्वाय रुपमा क्वारेन्टाइनमा बस्न नमाने सरकारले बल प्रयोग गरेरै भएपनि राख्ने बताए ।

सचिव बिडारीले महामारीबाट जोगाउन लक डाउन गर्नु सरकारको बाध्यता भएको भन्दै सीमाबाट आएका नेपालीहरू क्वारेन्टाइन र आवश्यक्ताअनुसार आइसोलेसनमा बसेर सुरक्षित भएमात्र घर जान दिइने बताए ।

उनले सरकारले आमजनतालाई कुनै पनि कुराको अभाव र असुविधा हुन नदिनका लागि उच्च तयारी भइरहेको बताएका छन् ।

बिडारीले १० महिनालाई पुग्ने नुन र पाँच महिनाभन्दा बढीलाई पुग्ने चिनी स्टक रहेको जानकारी दिए ।

खाद्यवस्तु सात महिनालाई स्टक रहेको भन्दै सचिव बिडारीले कुनै पनि उपभोग्य बस्तुको अभाव नरहेको बताए ।

‘ग्यास आपूर्ति तेब्बर बढाएका छौँ । डाउनुपर्दैन’, उनले भने, ‘ओभर स्टक गर्ने बानी नगर्ने हो भने कसैलाई ग्यासको अभाव हुँदैन ।’

‘कुनै पसलेले ग्यास भएर पनि दिन मानेनन् भने टोलफ्री नम्बरमा फोन गर्नुस्’, उनले भने, ‘हामी तत्काल उपलब्ध गराउनेछौं । सरकारले गरेका निर्णयहरूको पालन गरी संक्रमणबाट जोगिए मात्र पुग्छ ।’

सचिव बिडारीले कोरोना संक्रमणपछि प्रयोग गर्ने औषधिको अभाव हुन नदिन सबै आयात खुल्ला भएको बताए । उनले कोरोना भाइरसको संक्रमणसंग लड्न अहिले औषधि कमि भए पनि तत्काल ३२ टन औषधि ल्याउने तयारी भइरहेको बताए ।

उनले शनिबारभित्र औषधि विशेष बिमानमार्फत ल्याउने तयारी भइरहेको बताए । सचिव बिडारीले औषधि व्यवसायीहरूले पनि अन्य औषधि ८ महिनालाई पुग्ने स्टक रहेको जानकारी गराएको बताए ।

Published : Wednesday, 2020 March 25, 8:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया