काेराेना राेकथामका लागि कांग्रेसका सांसदहरूले दिए सरकारी कोषमा १५ दिनको तलब

काठमाडौं । नेपाली कांग्रेसले विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले एक हप्ताको लागि देशभर लक डाउन गर्ने निर्णय सकारात्मक रहेको जनाएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार विज्ञप्ति जारी गरेर सरकारको यो निर्णयलाई पूर्ण रुपले पालन गर्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई अनुरोध गरेका छन् ।

प्रमुख सचेतक खाँणले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषलाई सहयोग स्वरुप नेपाली कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने सदस्यहरूको १५ दिनको पारिश्रमिक (तलब) बराबरको रकम दिने निर्णय गरेको जनाएका छन् ।

‘लक डाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकहरुलाई जीवनयापन गर्न कठिनाई हुने भएको हुँदा श्रमिकहरुलाई सहजरुप खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि नेपाल सकारसँग आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

‘अन्तमा यस विषम परिस्थितिमा सम्पूर्ण नेपालीहरू एक जुट भई धैर्यताका साथ चुनौतीको सामना गर्न हार्दिक अपील गर्दछौं’, कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ ।

Published : Tuesday, 2020 March 24, 12:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया