श्रद्धाञ्जलि दिन रामचन्द्रसहितका नेताहरू आर्यघाटमा, कांग्रेसको विभागका सदस्यको निधन

काठमाडौं । प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेस दाङका अग्रज नेता छविकुमार शर्माको काठमाडौंमा निधन भएको छ ।

शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा शर्माको निधन भएको हो ।

स्वर्गीय शर्मा ०१५ सालका सांसद स्व. गणेशकुमार शर्माका भाइ हुन् । ०१७ सालपछि स्वर्गीय छविकुमार शर्मा दाङका तत्कालीन सभापति तिलकबहादुर डाँगीको कार्यकालमा जिल्लाको कार्यवाहक सभापति समेतको जिम्मेवारी वहन गरेका थिए ।

स्वर्गीय शर्माले ०१७ सालपछिका विभिन्न कालखण्डमा जेल र निर्वासित जीवन बिताउनुका साथै पार्टीको विभिन्न एक्सन कमिटीहरूमा रहेर योगदान गरेका थिए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनहरु र पार्टी संगठनमा उनले अत्यन्त सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शर्मालाई गत फागुन १९ गते जेष्ठ राजनीतिज्ञ सभाको सदस्यमा मनोनयन गरेका थिए ।

उनको निधनप्रति कांग्रेसका सभापति देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । ‘प्रजातन्त्र सेनानी एवं दाङका अग्रज नेता छविकुमार शर्माको निधनको खबरले मलाई अत्यन्त दुखित बनाएको छ’, देउवाले भनेका छन् ।

‘उहाँले नेपालको प्रजातान्त्रिक र पार्टी संगठनमा पुर्‍याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु’, देउवाले भनेका छन्, ‘शर्माको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’

यसैबीच, स्व.शर्माको पशुपति आर्यघाटमा सोमबार अन्तिम दाहासंस्कार गरिएको छ ।

दाहासंस्कार गर्नु अगाडि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य दीपक गिरी, आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेसहितका नेताहरूले शर्माको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएका छन् ।

Published : Monday, 2020 March 23, 3:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया