‘एक कांग्रेस’ बनाउन कित्ताकाटको सीमारेखा भत्काऔँः योगेन्द्र चौधरी

घोराही । नेपाली कांग्रेसका यवा नेता एवम् केन्द्रीय योगेन्द्र चौधरीले स्व.गिरिजाप्रसाद कोइरालको क्रान्तिकारी बिचारलाई आत्मसात गर्दै मजबुत कांग्रेसको अभियानमा लाग्नुपर्ने बताएका छन् ।

घोराहीमा स्व.गिरिजाप्रसाद कोइरालाको १०औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दाङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य चौधरीले इतिहास भैसकेका गिरिजाबाबुको योगदानको पाठ सबै कांग्रेसीहरूले सिक्न जरुरी रहेको बताए ।

‘स्व.गिरिजाप्रसाद कोइरालभित्र रहेको क्रान्तिकारीपनाको सिको हामीले किन गर्न सक्दैनौँ ?’ प्रश्न गर्दै उनले भने, ‘उहाँको योगदानको पाठ मात्रै पढौँ र सिकौँ । उहाँको मार्गदर्शनको पाठको सिको गरे मात्रै मजबुत कांग्रेस बन्छ ।’

नेता चौधरीले कांग्रेसलाई कसरी बलियो पार्टीका रुपमा स्थपित गर्ने भन्ने विषयको जवाफ कांग्रेसी स्वयंले खोज्नुपर्ने बताए ।

कांग्रेसको अहिलेको कमजोर अवस्था कांग्रेसभित्रकै आन्तरिक समस्याका कारण भएको बताएका केन्द्रीय सदस्य चौधरीले सुधार सबैमा आवश्यक रहेको बताए । उनले भने, ‘कांग्रेस किन कमजोर भयो ? भन्ने जवाफ बाहिर खोज्न जाने हैन, हामीभित्रै खोज्ने हो ।’

कांग्रेसभित्रको कित्ताकाटका कारण कांग्रेस कमजोर बनेको सत्यता छर्लङ्ग रहेको भन्दै नेता चौधरीले ‘एक कांग्रेस’ निर्माणका लागि कित्ताकाटको सीमारेखा भत्काउनुपर्ने बताए ।

‘पार्टीभित्रको कित्ताकाट कहिलेसम्म ? बलियो कांग्रेस निर्माणका लागि पुराना कित्ताकाटका सीमारेखा भत्काउने सहासका साथ अगाडि बढौँ’, उनले भने, ‘कमसेकम दाङ जिल्लाबाट यसको सुरुवात होस् ।’

आफू केन्द्रीय सदस्यमा मनोनीत भैसकेपछि यसको नैतिक जिम्मेवारी आफ्नो काँधमा अझै बढेको भन्दै नेता चौधरीले आफू यो अभियानबाट पन्छिन नमिल्ने बताए ।

कृष्णकिशोर घिमिरे

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले कांग्रेसभित्रको गुटले कांग्रेसलाई आफै कमजोर बनाएको बताए । स्व.गिरिजाप्रसाद कोइरालाको स्मरण गर्दै नेता घिमिरले गिरिजाबाबुको जस्तो शालिनता र पार्टीभित्रको चिन्तनको अभाव कांग्रेसभित्र खड्किरहेको बताए ।

‘म आफूलाई चित्त नबुझेको कुरा गिरिजाबाबुलाई खुलेरै राख्न सक्ने वातावरण त्यो बेला थियो’, उनले भने, ‘तर अहिले कुन कार्यकर्ताले आफ्नो मनमा लागेका असन्तुष्टिका कुरा कुन नेतासँग राख्न सक्छ ? यो संस्कार कांग्रेसभित्र हराइसक्यो ।’

कार्यक्रममा नेपाली कांग्रेस दाङले केन्द्रीय सदस्यमा मनोनीत भएका युवा नेता योगेन्द्र चौधरी र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलाई स्वागत तथा बधाइ दिएको छ ।

दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्वसभापति वीरकेश्वरी गौतम, उपसभापति कमानसिंह भारती, महिला नेतृ गिरिजा न्यौपानेलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

Published : Friday, 2020 March 20, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया