‘गिरिजाबाबुले मलाई पार्टीको झण्डा चाहियो रोमी भन्नुभयो’

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले स्व.गिरिजाप्रसाद कोइरालाले प्रतिगमनविरुद्धको आन्दोलनका क्रममा आफूलाई पार्टीको झण्डा चाहियो भनेको कुरा स्मरण गरेका छन् ।

संसद भङ्ग भएपछि नेपाली कांग्रेसले प्रतिगमनविरुद्ध आन्दोलन शुरु गरेको थियो । आन्दोलन शुरु हुँदै थियो । सोही बेला गिरिजाबाबुले नेता थकालीलाई बोलाएर कांग्रेसको चारतारे झण्डा मागेका थिए । ‘प्रतिगमनविरुद्धको आन्दोलन ०५८ सालदेखि शुरु भइसकेको थियो’, उनले भने, ‘एक दिन गिरिजाबाबुले मलाई बोलाउनुभयो । रोमी आन्दोलनका लागि पार्टीको झण्डा चाहियो खोज्नु पर्‍यो ।’

गिरिजाबाबुले अ¥याएको कामलाई कांग्रेस नेता थकालीले तत्कालै झण्डा खोजेर ल्याए । ‘गिरिजाबाबुले आन्दोलन घोषणा गरिसक्नुभएको थियो’, उनले भने, ‘त्यस्तो अवस्थामा उहाँले मलाई सम्झिएर जिम्मेवारीहरू दिनुभएको थियो ।’

गिरिजाबाबुको संगतले आफूले धेरै कुरा सिक्न पाएको उनले बताएका छन् । ‘गिरिजाबाबुले धेरै ठूला महत्वपूर्ण निर्णय गर्दा मलाई पनि सोध्नु हुन्थ्यो । के गर्दा राम्रो हुन्छ रोमी भन्नु हुन्थ्यो’, नेता थकालीले गिरिजाबाबुलाई स्मरण गर्दै भने, ‘मैले पनि आफूले जानेबुझेको सुझावहरू दिन्थेँ ।’

गिरिजाबाबुले प्रतिगमनविरुद्धको आन्दोलन घोषणा गर्दा राजा जान्छ भन्ने मलाई आभास भइसकेको थियो । ‘राजालाई भगाउनु हुँदैन, राजासँग प्रजातन्त्र खोसेर लिनुपर्छ भन्नेहरू पनि थिए’, उनले भने, ‘गिरिजाबाबुले गलत कुराहरू सुन्नुभएन । अगाडि बढ्नुभयो । त्यसको तथ्य अहिले सबैको आँखा अगाडि छ । राजसंस्था कहाँ छ ? नेपाली जनता कहाँ छन् ?’

राजाले गिरिजाबाबुलाई फकाउन विभिन्न सम्पर्क सूत्रमार्फत प्रधानमन्त्रीको प्रस्ताव पठाएको नेता थकालीले बताए । ‘गिरिजाबाबु दरबारसमक्ष कहिल्यै पनि झुक्नु भएन । उहाँलाई प्रतिगमविरुद्धको आन्दोलनका बेला थुप्रै प्रलोभनहरू दिइएको थियो’, उनले भने, ‘गिरिजाबाबुले मान्नुभएन । गिरिजाबाबुलाई प्रधानमन्त्री बनेर संसद पुनःस्थापना गर्न पनि प्रस्ताव आएको थियो ।’

गिरिजाबाबुले सीमित आफू निकटका केही नेताहरूकै सल्लाहमा प्रधानमन्त्री बन्न अस्वीकार गरेको उनले बताए । ‘त्यसपछि देश गणतन्त्रमा गयो भन्ने आभास भयो’, थकालीले भने, ‘आखिर गिरिजाबाबुको अडानले नै संसद पुनःस्थापना भयो । राजसंस्थाको अन्त्य भयो ।’

गिरिजाबाबुले तत्कालीन सभामा शेरबहादुर देउवालाई गाली गर्ने कांग्रेसका नेताहरूलाई सम्झाउने गरेको नेता थकालीले स्मरण गरेका छन् । ‘गिरिजाबाबुले बाहिर शेरबहादुर देउवाका विषयमा असन्तुष्टिहरू राख्ने गरेपनि कांग्रेसका नेताहरूलाई शेरबहादुर देउवालाई गाली नगर्न आग्रह गर्नुहुन्थ्यो’, उनले भने, ‘शेरबहादुर देउवाको पनि सहयोग आवश्यक पर्छ भनेर नेताहरूलाई सम्झाउनु हुन्थ्यो ।’ संसद विघठन गरेकै कारण प्रतिगमन आएको भनेर कांग्रेसका नेताहरूले त्यस बेला शेरबहादुर देउवालाई गाली गर्ने गरेका थिए ।

‘गंगा नदीबाट एकलोटा पानी लैजादा व्यक्तिले सिङ्गै गंगा मसँग आयो भनेर भ्रम गर्छ । तर गंगा सकिदैन । झन् बढेको हुन्छ’, नेता थकालीले भने, ‘गिरिजाबाबुले पनि त्यही कुरालाई सधै भन्नु हुन्थ्यो ।’

गिरिजाबाबुको जीवनको अन्तिम समयसम्म साथमा बस्न पाएको बताएका नेता थकालीले संविधान सभाको निर्वाचन गर्दा कांग्रेस पराजित हुन्छ भन्ने कुरा पहिला नै जानकारी रहेको बताए ।

‘माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा संविधान साभमा सहमति भयो । संविधान सभाको निर्वाचन हुँदा कांग्रेस हार्छ भन्ने उहाँलाई थाहा थियो’, उनले भने, ‘निर्वाचन नगर्दा देश हार्ने थियो । गिरिजाबाबुले कांग्रेस हारेर केही हुँदैन । देश हार्न दिन्न भनेर निर्वाचन आयोगका तत्कालीन प्रमुख आयुक्त भोजराज पोखरेललाई बोलाए निर्वाचन गर्न आदेश दिनुभएको थियो ।’

Published : Friday, 2020 March 20, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया