वीपीका साथी तिलक डाँगीलाई दाङ कांग्रेसले कहिल्यै भुल्दैनः दीपक गिरी

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले पार्टीमा योगदान गरेका अग्रजहरूको सम्मान गर्नुपर्ने बताएका छन् ।

दाङमा प्रजातान्त्रिक सेनानी तिलक डाँगीलाई श्रद्धाञ्जलि दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले स्व.तिलक डाँगीले कांग्रेसप्रति गर्नुभएको योगदानलाई नेता तथा कार्यकर्ताहरूले सधैँ स्मरण गर्ने बताए । उनले स्व.डाँगीको राजनीतिक चरित्र र व्यवहारलाई कांग्रेसले सधै स्मरण गर्ने बताए ।

नेता गिरीले अग्रज नेतृत्व एवम् प्रजातन्त्रका सेनानीको राजनीतिक योगदानलाई कहिल्यै भुल्न नहुने बताए । स्व.डाँगीलाई कांग्रेसले सधै सम्मान र अविस्मरणयी रुपमा स्मरण गर्ने गिरीले बताए ।

‘जनताको आन्दोलनको अगुवाको भूमिका होस् वा दाङ जिल्लाको समग्र विकासमा योगदानका विषयमा हामीले उहाँलाई स्मरण गरिरहेका छौं’, कांग्रेसका केन्द्रीय सदस्य गिरीले बताए ।

‘प्रजातन्त्रका सेनानी स्व.डाँगी हामीहरूको अग्रज गुरु हुनुहुन्छ’, गिरीले भने, ‘उहाँले अपनाएको राजनीतिक संस्कारलाई कांग्रेसले सधैँ पछ्याउनेछ ।’

कांग्रेस केन्द्रीय सदस्य गिरीले अब राष्ट्रिय राजनीतिमा समेत स्व.डाँगीको योगदान र अभियानलाई सार्थक बनाउन आफूले पहल गर्ने बताएका छन् ।

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले स्व. तिलक डाँगीले लोकतान्त्रिकमार्गमा हिँडाउन कांग्रेसमा ठूलो योगदान गरेको बताए । उनले स्व.डाँगीको निधनले लोकतान्त्रिक आन्दोलनको अगुवा गुमाएको बताए ।

तिलक डाँगीको निधनले कांग्रेसको केन्द्रीय राजनीतिमा क्षति पुगेको घिमिरले बताए । ‘राजनितिक योगदान र राजनीतिक बाटोलाई कांग्रेसले अनुसरण गर्नेछ’, आमन्त्रित केन्द्रीय सदस्य घिमिरेले बताए ।

नेपाली कांग्रेस दाङका जिल्ला सभापति कृतिबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सांसद डिल्लीबहादुर चौधरीले स्व.तिलक डाँगी भूमिहीन चौधरीहरूको पक्षमा रहेको भन्दै स्मरण गरे ।

दाङ कांग्रेसका पूर्वसभापति वीरकेशरी गौतम, घनश्याम रेग्मी, गेहेन्द्र गिरी, क्षेत्रीय सभापति गिरीराज सवेदी, महासमिति सदस्य केशवकुमार आचार्य, जिल्ला सदस्य देवा बस्नेत, दलित नेता चेतबहादुर सेरपाइली, नदनकुमार शर्मा लगायतले स्व.तिलक डाँगीले राजनीतिमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।

कांग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खड्का, भुपबहादुर डाँगी, जिपी फाउण्डेशनका जिल्ला अध्यक्ष खगराज पाण्डे, नेविसंघका टोपबहादुर डाँगी, मानपुर ईकाइ सभापति लालबहादुर गिरी, बिजौरी ईकाइ सभापति हिमबहादुर डाँगी, कांग्रेस नेता श्याम रेग्मी लगायतका नेताहरूले पनि धारणा राखेका थिए ।

नेपाली कांग्रेस दाङले आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रमको सहजीकरण जिल्ला सचिव शंकरप्रसाद डाँगीले गरेका थिए । कार्यक्रममा धन्यवाद पारिवारका सदस्य कृष्ण डाँगीले दिएका थिए ।

को हुन् स्व.तिलक डाँगी ?

वीपी कोइरालासँग तिलक डाँगीको नाम जोडिएको छ । बहुदलीय व्यवस्थाको आन्दोलनमा पनि डाँगीको नाम जोडिएर आउँछ । ०६२–६३ को आन्दोलनमा डाँगीले सक्रियतापूर्वक भूमिका खेलेका थिए । उनको पनि योगदानले अहिले मुलुकमा लोकतन्त्र आएको छ ।

प्रजातन्त्रका लागि कांग्रेसले थालेको अभियानमा राप्ती र भेरी समेत कव्जा गर्ने नेतृत्व सम्हालेका तिलक डाँगीकै योगदानले मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनमा सहयोग छ ।

विक्रम संवत २००७ सालको जनक्रान्तिमा संलग्न डाँगीले नेपाली कांग्रेसको राजनीतिक यात्रालाई अन्तिम समयसम्म पनि रोकेनन् । विक्रम संवत २०१८ सालमा नेपाली कांग्रेसले थालेको सशस्त्र आन्दोलनमा सक्रिय डाँगीले विक्रम संवत २०१९ सालमा नेपाली कांग्रेसले थालेको सशस्त्र आन्दोलनकै क्रममा राप्ती भेरी क्रान्तिको नेतृत्वको जिम्मा लिए । उनकै नेतृत्वमा सुर्खेत सदरमुकाम कव्जा समेत गरिएको थियो ।

विसं २०१६ सालदेखि नै निरन्तर १८ वर्ष नेपाली कांग्रेस दाङको जिल्ला सभापतिका रुपमा सक्रिय डाँगीले विसं १०१६ सालमै जिल्ला विकास बोर्डको सदस्यको जिम्मेवारी पनि सक्रियतापूर्वक निर्वाह गरेका थिए ।

Published : Thursday, 2020 March 19, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया