कम्युनिस्ट अधिनायकवादविरुद्ध अन्तिम लडाइँ लड्न देउवाको अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाइँ लड्नुपर्ने बेला भएको बताएका छन् ।

महेन्द्रनारायण निधिको ९८औं जन्मजयन्तीका अबसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले लामो संघर्षपछि प्राप्त प्रजातन्त्र कम्युनिष्ट सरकारका गतिबिधिका कारण संकटमा परेको बताए ।

उनले प्रजातन्त्रको रक्षाका लागि आन्दोलनको आबश्यकतामा जोड दिएका हुन् ।

कांग्रेसले गर्ने आन्दोलन शान्तिपूर्ण हुने भन्दै हिंसामुक्त समाजका लागि निधिको दर्शन अनुकरणीय भएको देउवाले बताए ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले सत्तारुढ नेकपाले कम्युनिस्ट स्टेट बनाउन खोजेको भन्दै त्यसका बिरुद्ध लड्नुपर्ने बताएका छन् ।

‘लड्नका लागि कम्युनिस्टले दुई लट्ठी हाने हामी चार लठ्ठी हान्छौं भन्ने होइन, अहिंसाको बाटो अबलम्बन गर्नुपर्छ’, उनले भने, ‘जनवादी केन्द्रीयतालाई मार्गनिर्देशक सिद्धान्त मान्ने कम्युनिस्टले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई चुनौती दिइरहेको छ ।’

सरकारले भ्रष्टाचारलाई मलजल गरेको तथा उसले ल्याएका विवादस्पद विधेयक हेर्दा सरकार अधिनायवादतर्फ उन्मुख भएको निधिले बताए ।

१४औं महाधिवेशनलाई वैचारिक आधारमा एकताका साथ सम्पन्न गर्नुपर्नेमा उपसभापति निधिले बताए ।

कांग्रेसका नेता प्रकाशमान सिंहले कम्यनिस्ट दबदबाबिरुद्ध आन्दोलनमा जानुको बिकल्प नभएको बताए ।

उनले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेका बेला महेन्द्रनारायण निधिले शुरु गर्नु भएको अहिंसाको बाटो बढेमा निधिप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसले सरकारविरुद्ध अहिंसा र शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताए ।

उनले शान्तिपूर्ण माध्यमबाट कम्युनिष्ट अधिनायकवाद बिरुद्ध लड्नका लागि सडकमा आउन ढिलाई गर्न नहुने बताए ।

सिटौलाले अराजक क्रियाकलापका कारण ओली सरकारको दिनगन्ती शुरु भएको बताए ।

नेता प्रदीप गिरीले आन्दोलनको बिकल्प नभएको बताए । उनले ५ लाख जनता सडकमा उतारेर अहिंसात्मक आन्दोलनबाट अधिनायकवाद उन्मुख सरकारलाई निकाल्नुपर्ने बताए ।

२१औं शताब्दीमा पैसा र बलको राजनीति होइन, नैतिकताको राजनीतिको जित हुने उल्लेख गरे। ओली सरकारले भ्रष्टाचार र दुराचारलाई प्रश्रय दिएको उनले बताए । नेता गिरिले यस्तो राजनीति टिकाउ नहुने बताए ।

Published : Tuesday, 2020 February 25, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया