चितवन कांग्रेसद्वारा जिल्ला बन्द आह्वान, वडाध्यक्षको ज्यान बचाउन अपील

भरतपुर । कम्युनिस्ट सरकारले मागहरूका विषयमा चासो नदेखाएपछि नेपाली कांग्रेसले चितवन बन्दको आह्वान गरेको छ ।

चितवन कांग्रेसका सभापति जीतनारायण श्रेष्ठले सोमबार विज्ञप्ति जारी गरेर फागुन १५ गते चितवन बन्दको आहवन गरेका हुन् ।

विज्ञप्तिअनुसार फागुन १२ गते चौवीसकोटीमा चक्का जाम, फागुन १३ गते साढे १२ बजेदेखि साढे १ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना र फागुन १४ गते लायन चोक पुल्चोकमा मसाल जुलुस प्रदर्शन गरिनेछ ।

माडी नगरपालिका वडा नम्बर १ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष कृष्णप्रसाद पौडेल फागुन ७ गतेदेखि बाँदरझुलादेखि अमेलियासम्मका सुकुम्बासीहरूको समस्या समाधान लगायत सात सूत्रीय माग राखेर अनशनरत छन् ।

सोमबार छैटौँ दिन हुँदा पनि वडाध्यक्ष पौडेलको मागको सुनुवाई नभएपछि चितवन कांग्रेसले दवाव दिन बाध्य भएर बन्द लगायतका संघर्षको कार्यक्रम घोषणा गरेको सभापति श्रेष्ठले बताए ।

अनशन बसेका वडाध्यक्ष पौडेलको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदा समेत सरोकारवाला निकायबाट चासो दिइएको छैन ।

यो क्षेत्र नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्र पनि पर्छ । दाहालले माग पूरा गर्ने भनेर पटक पटक आश्वासन दिँदै आएका छन् । तर, मागको कुनै सुनुवाई हुन सकेको छैन ।

Published : Monday, 2020 February 24, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया