यो हो २५ लाखको घोडा, कम्युनिस्ट मुख्यमन्त्रीद्वारा पुत्ला उद्घाटन
घोराही । घोडाको दुई वटा पत्लाका कारण दाङको घोराही उपमहानगरपालिका विवादमा परेको छ । घोराही उपमहानगरपालिकामा पूर्वएमालेले जितेको छ ।
फागुन १० गते शनिबार घोराही उपमहानगरपालिकाको ट्राफिक चोक अर्थात घुम्राह चोकमा उपमहानगरपालिकाले दुई वटा ढलोटका घोडाको मूर्तिको उद्घाटन गरिएको छ । ती दुई वटा घोडाको मूर्तिको उद्घाटन प्रदेश ५ का कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेलले गरेका हुन् ।
उदघाटन कार्यक्रममा नेकपाका मेयर नरुलाल चौधरी, नेकपाकी सचेतक शान्ता चौधरी, नेकपाबाट प्रतिनिधि सभा प्रतिनिधित्व गर्ने सांसद सुजिता शाक्यलगायतको उपस्थिति रहेको थियो ।
चोकमा राखिएका दुई वटा घोडाको मूल्य २५ लाख रहेको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत केसीले दुई वटा घोडाको मूर्ति राख्न नगरपरिषदबाट निर्णय गरेर टेण्डर आह्वान गरिएको बताए ।
तर, नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर ५ का वडाध्यक्ष विष्णुमणि दाहालले घोडाको मूर्ति राख्ने र २५ लाखमा किन्ने विषयमा निर्णय भएको आफूलाई कुनै जानकारी नरहेको बताए ।
घोडाको मूर्ति ललितपुरको बालकुमारीमा रहेको नसला ह्याण्डिक्र्याफ्टले बनाएको हो ।
घोडाको दुई वटा मूर्ति बनाउन २५ लाख खर्च गरेर अनियमितता गरिएको आरोप घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई लागेको छ ।
घोडाको मूर्तिमा खर्च भएको रकमका विषयमा छानविन गर्नुपर्ने माग स्थानीयले गर्न थालेका छन् ।
घोराही उपमहानगरपालिकाले तुलसीपुर चोकमा पनि घोडाको मूर्ति राख्दै छ । तुलसीपुर चोकमा राखिने घोडाको मूति फाइभरको राखिने प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए । फाइभर घोडाको मूर्तिलाई करीव ५ लाख खर्च हुने केसीले बताए ।
नेपाली कांग्रेस दाङका नेताहरू घोडाहरूको मूर्ति के कारणले राखेको हो घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले स्पष्ट जवाफ दिन सकेनन् ।
‘जुम्लाबाट घोराहीमा घोडा ल्याएर व्यापार व्यवसाय गरेको सुन्नमा आएको छ । घोडा र घोराहीको विषयमा आधिकारिक विषयमा त मलाई पनि थाहा छैन’, उनले भने, ‘सुनेका कुराअनुसार घोडा र घोराहीको सम्बन्ध छ भनेर घोडाका मूर्ति राखेर घोराहीको पहिचान दिन खोजेका छौँ ।’
घोराहीको नाम घोडाकै कारण रहेको भन्ने कुनै तथ्य छैन । तर, मेयर चौधरीलाई घोडाका मूर्ति राख्न किन हतार गर्नुपर्यो भनेर घोराहीका स्थानीयले प्रश्न उठाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया