सबै तिक्तता भुलेर आजैदेखि कांग्रेस बनाउन प्रतिबद्ध बनौँः देउवा

धरान । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र दिवसका दिन पार्टीलाई एक बनाएर ठूलो दल बनाउने प्रतिवद्धता सबैले गर्नुपर्ने बताएका छन् ।

धरान नगर कार्यसमितिले बुधबार धरानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रका आधारस्तम्भहरूमा कम्युनिस्ट सरकारले प्रहार गरेको बताए । उनले प्रजातन्त्रको संररण गर्नुपर्ने बताएका छन् ।

‘०७ सालमा कांग्रेसको नेतृतवमा प्रजातन्त्र ल्याइएको थियो’, उनले भने, ‘त्यसैको जगमा मुलुकमा लोकतान्त्रिक संघीय गणतन्त्र आएको छ । यसको रक्षा गर्नुपर्छ ।’

उनले मुलुकमा प्रजातन्त्र ल्याउनका लागि कांग्रेसले राणा र राजाहरूसँग ठूलो आन्दोलन गर्नु परेको भन्दै अग्रजहरूको योगदानलाई खेर जान दिन नहुने बताए ।

कम्युनिस्ट सरकारले लोकतान्त्रिक शक्तिहरूलाई कमजोर बनाएर व्यवस्था नै उल्ट्याउने प्रयास गरिरहेको उनले बताए । ‘ओली सरकारले संविधान, मानवअधिकार, राष्ट्रियता, स्वतन्त्र प्रेस कमजोर गराउन थालेको छ’, उनले भने, ‘प्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ । कांग्रेसले लोकतन्त्रलाई कमजोर हुन दिन्न ।’

उनले अहिलेको अवस्थामा पार्टी एक भएर जानुपर्ने बताए । ‘पार्टीभित्रका केही मतभेद छन् भने मिलाउनुपर्छ । धेरै कुराहरू मिलाएका पनि छौँ’, सभापति देउवाले भने, ‘प्रजातन्त्रको रक्षाका लागि कांग्रेसले एकता र मेलमिलापको नीति अंगिकार गर्नुपर्छ ।’

सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाएर अब आउने निर्वाचनमा पहिलो पार्टी बनाउने बताए ।

कार्यक्रममा महामन्त्री डा.शशांक कोइरालाले पनि कांग्रेसभित्र आजैका दिनदेखि मेलमिलापको नीति लिएर अगाडि बढ्नुपर्ने बताए । उनले अबको निर्वाचनमा पार्टीलाई ठूलो बनाउनका लागि मिलेर जानुपर्ने बताए ।

Published : Wednesday, 2020 February 19, 5:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया