सत्र हजारको ज्यान लिने प्रचण्डलाई जेल हाल्नुपर्छः सरिता प्रसाइँ

लण्डन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभामा सचेतक सरिता प्रसाइँले सत्र हजार मान्छे मार्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जेल हाल्नुपर्ने माग गरेकी छिन् ।

नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति बेलायले शनिबार लण्डनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रसाइँले खुलामञ्चबाट पाँच हजार मान्छे मा’रेको हुँ, सत्र हजार होइन भन्ने प्रचण्डलाई तत्काल पक्राउ गरेर जेल हाल्नुपर्ने बताइन् ।

‘प्रचण्डले सत्र हजार होइन, पाँच हजार मान्छे मा’रेको हुँ भन्नु हुन्छ । उहाँलाई तत्काल पक्राउ गरेर जेल हाल्नुपर्छ’, उनले भनिन्, ‘प्रचण्डलाई केही नगर्ने । मान्छे मा’रेको प्रमाणित नै नभएको कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमलाई जेल हालिएको छ । हामी किन नबोल्ने ? बोल्नुपर्छ ।’

नेतृ प्रसाइँले कम्युनिस्ट सरकारले कांग्रेसलाई फसाएर सिध्याउने रणनीति बनाएको बताइन् । ‘यस्तो अवस्थामा कांग्रेस चुप लागेर बस्दैन’, उनले भनिन्, ‘कांग्रेस बच्यो भने हामी रहन्छौँ । होइन भने हामी पनि रहँदैनौँ । पार्टी बलियो बनाऔँ ।’

फागुन १ गते कथित जनयुद्ध दिवसका अवसरमा धुम्बाराहीमा स्व.गिरिजाप्रसाद कोइरालाविरुद्ध दिएको अभिव्यक्तिको कांग्रेस नेतृ प्रसाइँले आपत्ति जनाइन् ।

‘प्रचण्डजीलाई बोल्न लाज लाग्दैन । ताकत छ भने प्रचण्डजी तपाईले आफ्नै विप्लवजीलाई मिलाउनुस्’, उनले भनिन्, ‘गिरिजाबाबु जीवित रहँदासम्म त्यो कुरा किन भन्नुभएन ? गिरिजाबाबुले तपाईहरूलाई शान्ति प्रक्रियामा ल्याएर सक्नु हुन्छ भने सत्तामा पुगेर खानुस् भनेर दिएको होइन ? मुख सम्हालेर बोल्नुस् प्रचण्डजी ।’

कांग्रेस नेतृ प्रसाइँले कम्युनिस्टहरू मनोमानी ढंगले अगाडि बढ्न थालेपछि कांग्रेसले संसद र सडकबाट खबरदारी गरेको बताइन् ।

‘कांग्रेसले मुलुक बनाउन कम्युनिस्टहरूलाई समय दियो । चुप लागेर बस्यो’, उनले भनिन्, ‘प्रजातन्त्रमाथि आक्रमण हुन थाल्यो । त्यसपछि हामीले सचेत गराउन थाल्यौँ ।’

‘लोकतन्त्रमाथि खतरा भएपछि कडा रुपमा प्रस्तुत भयौँ । संसदमा अधिकार खोस्ने विधेयकहरू ल्याइयो । कांग्रेसमाथि श्रङ्खलाबद्ध रुपमा अक्रामण भयो’, प्रसाइँले भनिन्, ‘कांग्रेस गाउँबाट मौलाएर आयो भने कम्युनिस्टले थेग्न सक्दैन । कांग्रेसलाई कमजोर नठानियोस् ।’

‘हाम्रो पार्टीभित्रको कुरा बाहिर आउँछ । कम्युनिस्टहरूको पार्टीभित्रको कुरा बाहिर आउँदैन । त्यहाँ पनि लोकतन्त्रका लागि भाँडभैलो छ’, उनले भनिन्, ‘कम्युनिस्टभित्र अराजकता र भ्रष्टाचार भएको छ ।’

कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको पछाडि पार्टी नलागेको बताएकी उनले भनिन्, ‘कांग्रेस विजय गच्छदारलाई बचाउन लागेको छैन ।

प्रधानमन्त्रीले नचाहिकन कुनै कुरा पास हुँदैन । मन्त्रीलाई कानून लाग्ने प्रधानमन्त्रीलाई नलाग्ने भन्ने हुन्छ ? कारबाही गर्ने हो भने न्याय संगत गर भनेको हो । प्रस्ताव लैजाने मन्त्रीलाई होइन निर्णय गर्नेलाई कारबाही गर भनेका हौँ ।’

कांग्रेस नेतृ प्रसाइँ एक हप्तादेखि बेलायत भ्रमणमा छिन् । उनले बेलायतमा रहेका नेपालीहरूसँग भेटघाट र परामर्शहरू गर्दै आएकी छिन् ।

Published : Monday, 2020 February 17, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया