भक्तपुरमा नेकपाभित्र पहिरो गयो, महेश बस्नेतका कार्यकर्ता कांग्रेसमा प्रवेश

भक्तपुर । भक्तपुरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रबार भक्तपुर जिल्लाको गुण्डुमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले नेकपाका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा भित्र्याएका हुन् ।

नेकपा छाडेर नेपाली कांग्रेस प्रवेश गर्नेमा मदन तामाङ, तीर्थ तामाङसहित दुई दर्जन रहेका छन् ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नवप्रवेश नेकपाका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा उचित स्थान दिने प्रतिवद्धता जनाए । उनले नेकपा जस्तो झुठ बोल्ने पार्टी कांग्रेस नरहेको बताए ।

देशमा भ्रष्टाचार, अराजकता, हत्या, हिँसा बढेको भन्दै सभापति थापाले जनताले दिइको झण्ड दुईतिहाइको बहुमतलाई नेकपाका नेताहरूले दुरुपयोग गरेको बताए ।

नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले नेपाली कांग्रेसप्रति जनताको आकर्षण बढिरहेको बताए । उनले कांग्रेसले मात्रै जनताको अधिकारको रक्षा गर्ने बताए ।

सत्तारुढ नेकपाले निर्वाचनमा गरेको प्रतिवद्धताअनुसारको काम गर्नुको साटो जनताका कुरा नै बेवास्ता गर्न थालेपछि आफूहरूले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेको उनीहरूले बताएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली निकट मानिने नेकपाका प्रतिनिधि सभाका सांसद महेश बस्नेतको निर्वाचन क्षेत्रका नेकपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेपछि नेकपा भक्तपुरमा तरंग उत्पन्न भएको छ ।

Published : Friday, 2020 February 14, 3:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया