प्रचण्ड बरबराएपछि कांग्रेसका खतिवडाले सम्झाइदिए असली औकात

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले क.प्रचण्डको जिब्रोमा ब्रेक नरहेको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाप्रति अनुदार र अमर्यादित आक्षेप लगाएका प्रचण्डलाई नेता खतिवडाले औकातमा बस्न चेतावनी दिएका हुन् ।

खतिवडाले प्रचण्डलाई आफ्नो बिगतको पृष्ठभूमिलाई स्मरण गरेर नेपाली कांग्रेस र स्वर्गीय गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियामा लगाएको गुन नभुल्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका नेता खतिवडाले बिहीबार ट्वीट गर्दै भनेका छन्, ‘क.प्रचण्ड हजुरको जिब्रोमा ब्रेक छैन, हामीलाई थाहा छ । तर, यस्ता सस्ता कुरा बोल्दा तपाईंका सन्तानले पनि पत्याउन गाह्रो छ ।’

‘अब बारम्बार यस्तै कुरामा मात्र नेपाली जनतालाई झुक्याउने चेष्टा नगर्दा हजुरलाई नै भलो होला कि कसो बामदेव जी ?’, भन्दै खतिवडाले प्रश्न गरेका छन् ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सबै कुरा त्याग गरेर मुलुकमा शान्ति ल्याउन जंगलमा बसेका माओवादीलाई शहरमा ल्याउन गरेको योगदानको प्रचण्डले अपमान गरेको खतिवडाले बताए । उनले प्रचण्ड र माओवादीहरूले आखिर झुठको खेती गर्दा रहेछन् भन्ने कुराको प्रमाण दिएको बताए ।

कथित जनयुद्ध दिवसका अवसरमा सत्तारुढ नेकपाले पूर्वएमालेको पार्टी मुख्यालय धुम्बाराहीमा बिहीबार बिहान सीमित कार्यकर्तामाझ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले गिरिजाप्रसाद कोइरालाप्रति अनादर हुने अभिव्यक्ति दिएका थिए ।

प्रचण्डले आफूलाई गिरिजाप्रसाद कोइरालाले आक्रमण गर्न उक्साउने गरेको दाबी गरेका थिए । प्रचण्डको यो अभिव्यक्तिको नेपाली कांग्रेसले विरोध गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर प्रचण्डको अभिव्यक्तिको आलोचना गरेका छन् ।

Published : Thursday, 2020 February 13, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया