कांग्रेसको निर्णयले अख्तियार र नेकपाको सातोपुत्लो उड्यो

काठमाडौं । नेपाली कांग्रेसले ललिता निवासको जग्गा सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोग पत्र आफैमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त रहेको जनाएको छ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अख्तियारले दोहोरो मापदण्डयुक्त निर्णय गरेको कांग्रेसले ठहर गरेको हो ।

‘यसले के प्रष्ट गर्दछ भने आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार माथि नेपाल सरकारको प्रभाव र दवावमा मुद्दा दायर गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो कार्य राजनैतिक पूर्वाग्रह र वदनियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भत्र्सना र खेद व्यक्त गर्दछ तथा यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय गर्दछ ।’

‘नेता विजयकुमार गच्छदार कानूनी रुपमा सामना गर्दै निर्दोष सावित हुनुहुनेछ भन्ने नेपाली कांग्रेसको विश्वास छ’, नेपाली कांग्रेसले भनेको छ ।

नेपाली कांग्रेसले चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीसँगै सबै नेपालीलाई तत्काल उद्धार गरेर देश ल्याउन यो बैठक सरकार समक्ष माग गरेको छ ।

‘उद्धारमा हुने ढिलाइले बढ्न सक्ने संक्रमणको जोखिम र त्यसले भोलि नेपालमा पर्न सक्ने गम्भीर असर बारे बैठक सरकारलाई सजग गराउन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘देश फर्काएर राख्ने ‘क्वारेन्टाइन’ लाई सम्पूर्ण रुपले व्यवस्थित र सुरक्षित ढंगले प्रबन्ध गर्न पनि बैठक सरकारलाई विशेष रुपले सजग गराउँदछ ।’

नेपाली कांग्रेसले राजधानीमै दिन दहाडै नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको हत्या भएको घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको जनाएको छ ।

‘समाजमा बढ्दो हिंसा र असुरक्षाको प्रतिनिधि घटनाका रुपमा यसलाई लिंदै बैठकले शान्ति सुरक्षाको प्रश्नमा गम्भीर हुन सरकार समक्ष अपील गर्दै घटनाको गहिरो अनुसन्धान र दोषी माथि कार्वाहीको माग गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ का नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष पदमबहादुर धामीको गत माघ २० गते भएको हत्यालाई बैठकले गम्भीरतापूर्वक लिएको छ’, नेपाली कांग्रेसले भनेको छ, ‘घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई आवश्यक कारवाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक माघ २९ गते २ बजे पुनः बस्नेछ ।

Published : Monday, 2020 February 10, 10:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया