कांग्रेसका शीर्ष नेतालाई गाउँका कार्यकर्ताले दवाव दिनुपर्छः शंकर भण्डारी

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार हरेक क्षेत्रमा असफल भएको बताएका छन् ।

गृहजिल्ला तनहुँको भानु नगरपालिका वडा नम्बर ८ देउरालीटारमा आइतबार नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूसँगको भेटघाटमा नेता भण्डारीले जनताले दिएको म्याण्डेटअनुसार कुनैपनि काम नभएको बताए ।

‘यो कम्युनिस्ट सरकार सबैतिर असफल भएको छ’, उनले भने, ‘जनताले विश्वास गरेर दिएको बहुमतको दुरुपयोग भएको छ ।’ भण्डारीले कम्युनिस्ट सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई समेत अंकुश लगाएर आफ्नो भजन गाउन सबैलाई दवाव दिन थालेको आरोप लगाए ।

जनताले चाहेको कुनैपनि काम हुन नसकेको भन्दै भण्डारीले भने, ‘संविधानले दिएको अधिकार दुरुपयोग गर्ने अधिकार कसैलाई छैन । जनताको काम पहिला गर्नुपर्छ ।’

कम्युनिस्ट सरकारका सबै कार्ययोजनाहरू बिफल भएको भन्दै उनले देश र जनताका लागि नेपाली कांग्रेसले मात्रै काम गर्ने बताए ।

‘अपराधिलाई संरक्षण गर्ने, संस्थागत रुपमा भ्रष्टाचार गर्ने, कार्यकर्ता पाल्न भ्रष्टाचार गर्ने जस्ता कार्यहरू भएका छन्’, नेपाली कांग्रेसका नेता भण्डारीले भने, ‘सरकारको गलत कुराको जानकारी गाउँ गाउँमा पुगेर दिनुपर्छ ।’

नेपाली कांग्रेसभित्रको विवाद समाधान गर्नका लागि उनले शीर्ष नेतृत्वलाई सुझाव दिए । ‘झगडा गरेर हुँदैन’, उनले भने, ‘यो अवस्थामा कांग्रेस मिल्नुपर्छ ।’

नेता भण्डारीले व्यक्तिगत स्वार्थका लागि केन्द्रमा झगडा गर्ने शीर्ष नेताहरूलाई गाउँका कार्यकर्ताहरूले दवाव दिएर पार्टी हितको लागि काम गर्न आग्रह गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेताहरू राम रेग्मी, आनन्दराज त्रिपाठी, बाबुराम थापालगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2020 January 27, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया