एसिया कप फुल कन्ट्याक्ट करातेमा नेपाललाई स्वर्ण पदक

काठमाडौं । काठमाडौंमा सम्पन्न प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता–२०२० को खुल्ला तौल समूहतर्फ नेपालका मञ्जु बिक तथा सन्देश मानन्धरले स्वर्ण पदक जितेका छन् ।

प्रतियोगिताको खुल्ला तौल समूह महिला तथा पुरुष स्वर्ण पदक विजेता खेलाडीलाई नगद १–१ लाख रुपियाँ प्रदान गरिएको थियो ।

प्रतियोगिताको खुल्ला तौल समुह (पुरुष) अन्तर्गत नेपालका शनि शिं सुनारले रजत तथा रेगन श्रेष्ठले कास्य पदक जित्न सफल भए भने खुल्ला तौल समूह (महिला) तर्फ भारतकी सुप्रिता विश्वकर्माले कास्य तथा नेपालकी बिनिता भण्डारीले रजत पदक जित्न सफल भइन् ।

प्रतियोगितामा ३० केजी तौल समूह (पुरुष) तर्फ नेपालका प्रज्वल पाण्डे तथा महिलातर्फ नेपालकै सृष्टि तामाङले स्वर्ण पदक जित्न सफल भइन् । यो समूहमा पुरुषतर्फ नेपालका युवराज नेपालीले रजत तथा मृदुल तिमल्सिनाले कास्य पदक जिते भने महिलातर्फ भारतकी दिपन्विता विश्वासले रजत तथा भारतकै रेखा लोहारले कास्य पदक जितिन् ।

३५ केजी तौल समूह (पुरुष) तर्फ नेपालका रवि यादव तथा महिलातर्फ नेपालकै कुन्सुङ छोमोले स्वर्ण पदक जिते । यो तौल समूहमा पुरुषतर्फ भारतका निखिल चन्द्रले रजत तथा भारतकै सरुण परियारले कास्य पदक जिते भने महिलातर्फ नेपालका सुहाना खड्काले रजत तथा नेपालकै समीक्षा थापा कास्य पदक जिते ।

४० केजी तौल समूहतर्फ नेपालका राम कार्की तथा नेपालकी सुजिता श्रेष्ठले स्वर्ण पदक जिते । यो समूहमा पुरुषतर्फ नेपालका रजत मिलन तामाङले रजत तथा दिलिप नेपालीले कास्य पदक जिते भने महिलातर्फ नेपालकी प्रोसिया कार्कीले रजत तथा पूनम घर्तीले कास्य पदक जितिन् ।

४५ केजी तौल समूहतर्फ नेपालका सन्दीप नेपाली तथा नेपालकै भूमिका गुरुङले स्वर्ण पदक जिते । यो तौल समूहतर्फ नेपालकै सुदिप मगरले रजत तथा नेपालकै मन्दीप भुसालले कास्य पदक जिते । महिलातर्फ भारतकी सोनामोनी मोन्डलले रजत तथा नेपालकी सुमिना लामाले कास्य पदक जितिन् ।

५० केजी तौल समूहमा नेपालका सरोज तामाङ तथा भारतकी पुस्पिता दासले स्वर्ण पदक जित्न सफल भए । यो समुहको पुरुषतर्फ नेपालका पारस शाह ठकुरीले रजत तथा भारतका गोपालचन्द्र रजकले कास्य पदक जिते भने महिलातर्फ भारतकी चम्पा नइदाले रजत तथा भारतकै वृष्टि नस्करले कास्य पदक जिते ।

५५ केजी तौल समूहमा नेपालका सुवास लिम्बुले स्वर्ण पदक जित्न सफल भए । यो समूहमा नेपालकै रुपक श्रेष्ठले रजत तथा अनिर्बन सेनले कास्य पदक जिते ।

प्रतियोगितामा कृष्ण पटेलले उत्कृष्ट खेलाडीको पदक पाए भने अनुष्मा जिसीले बेस्ट फाइटरको पुरस्कार जितिन् ।

Published : Sunday, 2020 January 26, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया