राष्ट्रपति र मुख्यमन्त्रीका नेताहरू कांग्रेसमा प्रवेश, भोजपुरमा भयो खुसीयाली

भोजपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भोजपुरका प्रभावशाली नेता उदयबहादुर कार्कीले माउ पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकामा शुक्रबार नेपाली कांग्रेसको पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा नेकपाका नेता कार्कीसहितका स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

कार्कीसहित १७ जना नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् कांग्रेसका युवा नेता उत्तम चपागाइँले जानकारी दिए ।

नेपाली कांग्रेसमा प्रवेश गरेका कार्की पूर्वएमाले निकटका हुन् । उनी पौवादुङमा गाउँपालिकाका प्रभावशाली नेता मानिन्छन् । उनले नेकपा छाडेपछि भोजपुरका कम्युनिस्टहरूभित्र खैलाबैला उत्पन्न भएको छ ।

नेपाली कांग्रेस भोजपुरका सभापति नन्दमणि राई, नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँ, युवा नेता उमेशजंग रायमाझीसहितका नेताहरूले नवप्रवेशी नेकपाका नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

नेपाली कांग्रेस प्रवेश गर्नेहरूमा उदयबहादुर कार्की, जगतबहादुर बोहरा, समरबहादुर बोहरा (सुरेन्द्र), तीर्थबहादुर राई, द्रोणबहादुर बोहरा, रमेश पौडेल, लालबहादुर पौडेल, विकास तामाङ, युवराज भुजेल, नारायणप्रसाद भट्टराई, धिरबहादुर प्रधान, डम्बरबहादुर पौडेल, नारायणप्रसाद राई, लोकबहादुर बोहरा, रामबहादुर कार्की, धनबहादुर राई र दियाहाङ राई रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला भोजपुरमा नेकपाका प्रभावशाली नेताहरूले नै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेपछि भोजपुर कांग्रेसभित्र खुसियाली छाएको छ ।

नेकपा परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूले भोजपुरबाटै राष्ट्रपति र प्रदेश १ मा मुख्यमन्त्री हुँदा पनि जिल्लाको विकास हुन नसकेको भन्दै कम्युनिस्टहरू झुठको खेती मात्रै गर्न जानेको आरोप लगाए । उनीहरूले कम्युनिस्टभन्दा कांग्रेस राम्रो लागेकाले नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।

यसैवीच पौवादुङमा गाउँपालिकामा नेपाली कांग्रेसको पार्टी कार्यालयको उद्घाटन गरिएको छ ।

Published : Friday, 2020 January 24, 5:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया