‘चोरबाटो’बाट संसद प्रवेश गर्ने ‘कुमार’ कम्युनिस्ट नेता

काठमाडौं । नेपाली कांग्रेसले डा.बाबुराम भट्टराईलाई साथ दिएपछि गोरखा जिल्लामा पराजित भएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘चोरबाटो’बाट संसद भवनमा प्रवेश गरेका छन् ।

आफ्नै गृहजिल्ला गोरखा क्षेत्र नम्बर २ बाट पराजित भएका श्रेष्ठ २ वर्षमै ‘चोरबाटो’बाट संसद भवनमा प्रवेश गरेका हुन् ।

श्रेष्ठ ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट डा.भट्टराईसँग पराजित भएका थिए ।

वाम गठबन्धनबाट उम्मेदवार भएका श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याएका थिए ।

उनलाई लोकतान्त्रिक गठबनधनबाट उम्मेदवार भएका डा.भट्टराईले ३१ हजार ८ सय ७ मत ल्याएर पराजित गरेका थिए ।

दुई वर्षअघिको यो जनादेशको स्पष्ट सन्देश थियो ‘पाँच वर्षका लागि संसदमा प्रवेश नगर्नु ।’ श्रेष्ठले जनताको त्यो आदेशलाई ‘चोरबाटो’ प्रयोग गरेर उल्लंघन गरेका छन् ।

गोरखाका जनताबाट अस्वीकृत भएका श्रेष्ठ प्रदेशबाट आफ्नै पार्टीका नेताहरूको मत पाएर गण्डकी प्रदेशबाट बिहीबार राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

नेकपाको ९ सदस्यीय सचिवालयमा सांसद नहुने नेतामा श्रेष्ठ र वामदेव गौतम मात्रै थिए । गौतमले प्रधानमन्त्री पद हुन नपाउने भएपछि राष्ट्रिय सभामा जान अस्वीकार गरेका थिए ।

गौतमको प्रधानमन्त्री रहर पूरा गर्न संविधान संशोधन गर्ने कि के गर्ने भन्ने विषयमा बेला बेला चर्चा पनि हुने गरेको छ ।

श्रेष्ठको गुटका गिरिराजमणि पोख्रेल शिक्षामन्त्री छन् । पोख्रेल योसँगै पाँचौ पटक मन्त्री बनेका छन् । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन लुकाउन प्रधानमन्त्रीलाई मद्दत गर्ने, किताबका जिल्ला रंगीन छपाएर शिक्षामा गुणस्तर आउँछ भन्ने सोँच राख्ने शिक्षामन्त्री पोख्रेल प्रवक्ता श्रेष्ठका मित्र मात्रै होइनन् आदर्श पनि हुन् ।

यिनीहरूबीच जीवन दर्शन यति धेरै मिल्छ कि दुवै जना ‘अविवाहित’ छन् । अर्को अर्थमा भन्ने हो भने श्रेष्ठ र पोख्रेल ‘कुमार’ हुन् ।

जनताले संसदमा नपस्नु भनेर दिएको आदेश सहनुको विकल्प थिएन दुई वर्षसम्म उनलाई । राष्ट्रिय सभाको निर्वाचनको बेला श्रेष्ठको धैर्यता टिक्न सकेन ।

श्रेष्ठ आफ्नै कार्यकर्ताले गर्ने मतदानमा विजयी हुने निश्चित भएपछि उम्मेदवार बनेका हुन् । उनी आखिर विजयी पनि भएका छन् ।

अब सरकारसँग दुई वटा मन्त्रालय खाली छन् । कानून मन्त्रालय र सहरी विकास मन्त्रालय । यीमध्ये एकमा शिवमाया तुम्बाहाम्फे जाने सम्भावना प्रवल छ । अर्कोमा श्रेष्ठ जान सक्छन् ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले यी दुई पद लिएर नयाँ राजनीतिक समीकरण पनि बन्न सक्छ ।

जनताबाट अस्वीकृत भएका प्रवक्ता श्रेष्ठ ‘चोरबाटो’बाट राष्ट्रिय सभामा प्रवेश गर्नु जनादेशको अपमान पनि हो । अर्काे अर्थमा भन्ने हो भने यति बेला श्रेष्ठले गोरखाका जनतालाई दिएको एक स्पष्ट सन्देश हो– ‘म जस्तो ठूलो नेतालाई भोट नदिने ? तिमीहरूले भोट नदिँदैमा मलाई फरक पर्दैन । तिमीहरूले भोट नदिए पनि म सांसद बन्न सक्छु । मन्त्री नै बन्न सक्छु ।’

राष्ट्रिय सभाको सांसदमा निर्वाचित भएका प्रवक्ता श्रेष्ठले अर्थमन्त्री डा.युवराज खतिवडालाई उछिट्याउने षड्यन्त्र पनि गर्न सक्छन् । श्रेष्ठलाई अर्थमन्त्री बन्ने ठूलो धोको छ । त्यसका लागि नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गुट परित्याग गरेर श्रेष्ठले ओलीलाई समर्थन गर्न सक्ने चर्चा नेकपाभित्र हुन थालेको छ ।

Published : Thursday, 2020 January 23, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया