गृह सचिवको खोजी शुरू, चर्चामा अर्यालको नाम

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई कर्मचारी प्रशासनसम्बन्धि सबै सरसल्लाह दिँदै आएका गृहसचिव प्रेमकुमार राईले अवकाश पाउँदै गर्दा बालुवाटारमा राईको उत्तराधिकारीको खोजी शुरु भएको छ ।

राईले ओलीको अघोषित प्रशासनिक सल्लाहाकारका रुपमा सबै कामकाज हेर्दै आएका थिए ।

अब उनले हेर्दै आएको काम हेर्नेगरी कमाण्ड र क्षमता भएको व्यक्तिको खोजी हुन पुगेको हो । राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त आयुक्त पदमा मनोनयन हुने चर्चासँगै उनको स्थानमा बरिष्ठ सहसचिव एकनारायण अर्याललाई बढुवा गरी गृहसचिव बनाउने तयारी भएको चर्चा सिंहदरबारमा हुन थालेको छ ।

एनसेलदेखि अख्तियारमा विभिन्न विवादमा मुछिदै आएका अख्तियारका सचिव महेश्वर न्यौपाने र सामान्य प्रशासनका सचिव यादव कोइराला पनि गृहसचिव बन्न दौडधूप गरेका छन् ।

गृहका क्याडरका रुपमा रहेका अर्याल हाल कलकत्तास्थित नेपाली महावाणिज्यदूतका रुपमा कार्यरत छन् । काठमाडौंलगायतका विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी हुँदा अर्यालले सदाचार, सुशासन र ओजिलो प्रशासनिक क्षमता प्रदर्शन गरेर चर्चा पाएका थिए । अहिले उनै अर्याललाई राईको उत्तराधिकारीका रुपमा हेरिएको छ । नेकपाका महासचिव विष्णु पौडेलले पनि रुचाएका अर्यालले भूकम्पका बेला उद्धार र राहत वितरणमा क्षमता देखाएका थिए ।

गृहसचिव राई, अर्थसचिव राजन खनाल, उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव रामकुमार आचार्यको पाँच वर्षे सेवा अवधिका कारण यहि माघ २२ देखि अवकाश पाउँदैछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सचिव अनिल ठाकुरले माघ २१ मा नै सेवा अवधीका कारण अवकाश पाउँदैछन् । यसरी रिक्त हुने सचिव पदमा वरिष्ठ सहसचिवका रूपमा रहेका दिनेश भट्टराई बढुवा हुने प्रायः निश्चित देखिन्छ ।

२०७१ साल २२ माघमा खनाल, राई र आचार्य तीनै जना सचिवमा सँगसँगै सचिवमा बढुवा भएका थिए । यसरी रिक्त हुने सचिवमा बरिष्ठ सहसचिव अर्यालसँगै टेकनारायण पाण्डे र रामशरण पुडासैनी रहेको स्रोतले जनाएको छ ।

यीमध्ये अर्याल गृह प्रशासनमा दख्खल मानिन्छन् भने पाण्डे शिक्षा क्षेत्रमा । पुडासैनी अर्थ प्रशासनमा राम्रो अनुभव भएका अधिकारीका रुपमा चिनिन्छन् ।
सचिवको दाबेदारमध्ये शिक्षा मन्त्रालयमा कार्यरत वरिष्ठ सहसचिव बाबुराम पौडेल रहे पनि उनको उमेरहदका कारण माघ १८ देखि अवकाश पाउने भएपछि सचिव हुन नपाउने भएका हुन् ।

सचिव खनाल अवकाश भएपछि अर्थसचिवका लागि राजश्व सचिव शिशिर ढुंगाना शसक्त दावेदारका रुपमा देखिएका छन् भने कतिपयले राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्याललाई बनाउन सुझाव पनि दिइरहेका छन् ।

अहिले प्रदेश प्रमुख सचिवका रुपमा कार्यरत तोयम राय र पुडासैनी राजश्व सचिव हुनको लागि दौडधूप गरेका छन् ।

रिक्त रहेको सचिव पदका लागि लोकसेवा आयोगको बढुवा सिफारिस समितिले एक बराबर तीन जनाको नाम सिफारिस गर्नेछ भने त्यही मध्येबाट मन्त्रीपरिषदले एकजनालाई सचिवमा बढुवा गर्ने व्यवस्था छ ।

Published : Thursday, 2020 January 23, 10:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया