कांग्रेस बचाउन गगनले बनाए रणनीति, महामन्त्री बनेर पार्टी बनाउने

काठमाडौं । गगन थापा नेपाली कांग्रेसका सेलिब्रेटी नेता हुन् । सानै उमेरमा राजनीतिमा फड्को मार्न सफल भएका थापालाई युवाहरूले धेरै मन पराउँछन् । उनको जस्तो लोकप्रियता कांग्रेसभित्र अरु नेतामा छैन । युवा पुस्तामा लोकप्रिय रहेका थापालाई राजनीतिमा सजिलो छैन । युवा पुस्तामा लोकप्रिय भएपनि थापालाई नेपाली कांग्रेसभित्र अस्थिर नेताका रुपमा लिइन्छ ।

व्यक्तिगत स्वार्थका लागि नेता कृष्णप्रसाद सिटौलाको फेर पकडेर राजनीतिमा उदाएका थापाले आफूलाई नयाँ बाटोबाट अगाडि बढाउन खोजेका छन् । सिटौलामार्फत केन्द्रीय सदस्य र मन्त्री बन्न सफल भएका थापाले १४औँ महाविधेशनलाई निशाना बनाउका छन् । काठमाडौं क्षेत्र नम्बर ४ मा काम गर्न नसकेर अलोकप्रिय बन्दै गरेका थापाले १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवार बनेर एक पटक कांग्रेसभित्र हालिमुहाली गर्ने योजना बनाएका छन् ।

उनले अहिलेदेखिनै महामन्त्रीको तयारी गरिरहेका छन् । महामन्त्री बन्ने सर्तमा उनले सिटौला समूहलाई छाड्ने तयारी गरेका छन् । थापालाई अर्का युवा नेता प्रदीप पौडेलले साथ दिएका छन् । उनीहरू दुबै नेता प्रकाशमान सिंहको पछाडि लागेर १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गर्ने योजना बनाइरहेका छन् ।

सिटौला समूहबाट महामन्त्री बन्ने सम्भावना निकै कम देखेका थापाले सिंहलाई नेता मानेर अगाडि बढ्ने तयारीमा रहेको स्रोतले जनाएको छ । सिंहले १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार बन्ने तयारी गरिरहेका छन् । सिंहलाई पनि थापा जत्तिको युवा नेता पाउँदा टिम बलियो हुन्छ भन्ने लागेको छ । सिंहलाई नेता मान्दै आएका नवीन्द्रराज जोशीले साथ छोड्ने संकेत दिएका छन् ।

प्रतिनिधि सभा निर्वाचनमा सिंहले असहयोग गरेका कारण आफू पराजित भएको गुनासाहरू जोशीले आफू निकटका नेताहरूलाई गर्न थालेका छन् । यस्तो अवस्थामा सिंहलाई थापाले साथ दिएमा जोशीको अभाव पनि अन्त्य हुनेछ । थापा देशभरि लोकप्रिय छन् । तर, १४औँ महाधिवेशनमा उनलाई महाधिवेशन प्रतिनिधिहरूले साथ दिन्छन् वा दिँदैनन् त्यसै बेला थाहा हुनेछ । तर, एउटा कुरा भने पक्का छ । त्यो हो सिटौलालाई छाडेर थापा नेता सिंहको समूहमा जान खुट्टा उचालेर बसेका छन् । थापा र पौडेलले सिटौलालाई भेट्न जान पातलो बनाइ सकेका छन् ।

थापा र पौडेल नेता सिंहलाई भेट्न चाक्सीबारीमा धेरै नै समय खर्च गर्ने गरेका छन् । काठमाडौं उपत्यकाको हकमा थापालाई सिंहकै पछाडि लाग्दा फाइदा हुन्छ । सिंहले काठमाडौं उपत्यकाभित्र थोरै भए पनि राजनीतिक प्रभाव राख्छन् । विशेष गरेर काठमाडौं जिल्लामा सिंहको प्रभाव छ । सिंहको साथ पाएर एक पटक काठमाडौं ४ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी हुने योजना पनि थापाको छ ।

थापाले काठमाडौं क्षेत्र नम्बर ४ लाई बलियो बनाउन आफ्नै खर्चमा कांग्रेस नेताहरूलाई चितवनको सौराह घुमाएका छन् ।काठमाडौं क्षेत्र नम्बर ४ मा आफू निकटका नेताहरूलाई नेतृत्वमा ल्याएर निर्वाचन केन्द्रित राजनीति उनले शुरु गरेका छन् । अन्तरपार्टी अन्तद्र्वन्द्वको भूमरीमा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा युवा नेता थापा, सभापति राजु श्रेष्ठ तथा नेता प्रकाशमान सिंह त्रिपक्षीय गुट सक्रिय छ । १३ महिनापछि हुने भनिएको १४औँ महाधिवेशनका लागि यी गुटहरू विस्तारै गुटगत अभ्यासमा सक्रिय हुन थालेका छन् ।

माघ ६ गते इकाइ सभापतिहरूसहित केही नेताहरू सौरहामा पुगेर सामाजिक सन्जालमा फोटो पोस्ट गरेपछि काठमाडौं क्षेत्र नम्बर ४ को राजनीतिमा तरङ्ग पैदा भएको छ । सांसद समेत रहेका थापासँग निकट भनिएका नेताहरूसँग इकाइ सभापतिहरूसहितको एकहुल एकाएक सौराहा पुग्नुलाई धेरैले आश्चर्यजनक मानेका छन् । युवा नेता थापा निकट भनिएका श्याम संगत, विनोद चालिसे, ईन्द्र थापा, गणेश कोइरालासहित अधिकांश ईकाइ सभापतिहरू सौराहा पुगेका छन् ।

सौरहा जानेहरूमा बुढानिलकण्ठ नगरपालिकाका २ र १२ तथा महानगरका वडा नम्बर १ का सभापतिबाहेक अन्य सबै परेका छन् । थापाका भनिने मान्छेहरूले छोरो पाउनु कहिले हो कहिले कोक्रो बुन्ने अहिले भनेजस्ते गरेर गुटगत अभ्यास गरेको भन्दै अर्काे समूह ६ गते साँझ काठमाडौंमा भेला भएका छन् । भेला हुनेहरूमा थापाकै मान्छे भनेर चिनिएर पनि सौराहा जान नपाएकाहरूको संख्या धेरै थियो ।

उनीहरूले यसरी पार्टीलाई महाधिवेशनको एकवर्ष पूर्व नै असहज गुटको खेलमा लैजान लागिएकोमा चासो व्यक्त गरेका छन् । उनीहरूले गुटगत खेल महाधिवेशनको एक–दुई महिना अघि गरेको भए राम्रो हुने भन्दै अहिलेदेखि नै यसरी गुटगुट खर्च गरेर बाहिर जाने वा लैजाने प्रकृयाले पार्टी संगठनलाई कमजोर बनाउने बताए । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)

Published : Thursday, 2020 January 23, 9:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया