कम्युनिस्ट अधिनायकवादविरुद्ध एक हुन कांग्रेस नेताहरूकाे अपील, भक्तपुरमा अनाैपचारिक कुराकानी

भक्तपुर । नेपाली कांग्रेसका नेताहरूले कम्युनिस्टहरूले निर्वाचनमा पाएको अभिमतलाई दुरुपयोग गर्न थालेको भन्दै चिन्ता जनाएका छन् ।

भक्तपुरमा शनिबार आयोजित एउटा वैवाहिक कार्यक्रममा भेट भएका नेपाली कांग्रेसका नेताहरूले जनताले दिएको अभिमतको दुरुपयोग गरेर जनताका अधिकार काट्न कम्युनिस्टहरू सक्रिय भएको भन्दै चिन्ता जनाए ।

उनीहरूले यस्तो अवस्थामा नेपाली कांग्रेसका केन्द्रीय नेताहरू मिलेर अगाडि बढ्नुको बिकल्प नरहेको जनाए । उनीहरूले कम्युनिस्टहरूको अधिनायकवादविरुद्ध नेपाली कांग्रेसले मात्रै प्रतिवाद गर्न सक्नेभन्दै मिलेर अधिनायकवादको सामना गर्नुपर्ने सहमति भएको एक नेताले बताए ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले अहिलेको अवस्थामा व्यक्तिगत स्वार्थलाई भन्दो देश र जनताको हितमा नेपाली कांग्रेसले काम गर्नुपर्ने भन्दै प्रजातन्त्रका लागि फेरि पनि संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल तरुण दललाई तयारी अवस्थामा बस्न निर्देशन दिएका थिए । उनले कांग्रेसले सदनमा मात्रै आवाज उठाएर मात्रै नहुने भन्दै युवा र तरुणहरूले सडकबाट कम्युनिस्ट अधिनायकवादविरुद्ध संघर्ष गर्नुपर्ने अवस्था आउँदै गरेको बताए ।

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले केन्द्रीय नेताहरू मिलेर अगाडि बढ्दा मात्रै कम्युनिस्ट अधिनायकवाद र कम्युनिस्ट सरकारलाई झट्का लाग्नेभन्दै सहमति र सहकार्यका साथ जानुपर्ने बताएका एक नेताले बताए ।

नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले केन्द्रको निर्देशन पर्खेर बसेको भन्दै आवश्यक पर्दा देशभरिका तरुणहरू जति बेला पनि कम्युनिस्ट अधिनायकवादविरुद्ध धावा बोल्न तयार रहेको बताएका थिए ।

कम्युनिस्टहरूले निर्वाचनमा जुन उदेश्य राखेर मत मागेका थिए त्यसलाई अहिले आएर भुल्न थालेको नेपाली कांग्रेसका नेताहरूले जनाएको एक नेताले बताए ।

वैवाहिक कार्यक्रमको एउटा कुनामा जम्मा भएका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सचेतक सरिता प्रसाइँ, सचेतक पुष्पा भुसाल, केन्द्रीय सदस्य डिला पन्त संग्रौला, केन्द्रीय सदस्य अम्बिका बस्नेत, युवा नेता रामहरि खतिवडा, नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँलगायतका नेताहरूले कम्युनिस्ट अधिनायकवादका विरुद्ध अनौपचारिक परामर्श गरेका हुन् ।

Published : Saturday, 2020 January 18, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया