कांग्रेसको निर्णयले कम्युनिस्ट सरकारलाई तनाब, आक्रामक बने नेताहरू

काठमाडौं । नेपाली कांग्रेसले पुस ४ बाट प्रारम्भ गर्न आव्हान गरिएको संसद अधिवेशन एक महिना वितिसक्दा पनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधि सभा बैठक अवरुद्ध भइरहनु सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को घोर अकर्मण्यताको परिणाम भएको जनाएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले नेकपाका कारण संसद अकर्मण्यतामा परेको जनाएको हो ।

‘संसदमा अल्पमतमा रहँदा विभिन्न वहानामा संसद अवरोध गर्ने र स्पष्ट बहुमत रहँदा आफूहरूबीचको आन्तरिक विवादलाई केन्द्रीय विषय बनाएर संसदीय परिपाटीको धज्जी उडाउने क्रियाकलापबाट नेकपाको संसदीय व्यवस्था प्रतिको आस्थामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ’, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘यस गैरजिम्मेवार क्रियाकलापप्रति नेपाली कांग्रेस संसदीय दल घोर आपत्ति प्रकट गर्दछ’, कांग्रेसले भनेको छ, ‘तत्काल प्रतिनिधि सभाको बैठकको सञ्चालन गर्न दृढतापूर्वक माग गर्दछ । प्रतिनिधि सभाको आगामी माघ ६ गते बस्ने बैठकलाई सुचारु गर्दै सोही बैठकबाट सभामुख निर्वाचनको प्रकृया प्रारम्भ गर्न माग गरिन्छ ।’

‘नेपालको संविधानको धारा ९१ को उपधारा (२) बमोजिम सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थामा नेपाली कांग्रेस संसदीय दल आफ्नो दृढता दोहो¥याउँदै सोही मुताविक गर्न जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘लामो प्रकृया पार गर्दै नेपालको हितमा कार्यान्वयनको दिशामा अगाडि बढेको अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई तत्काल संसदबाट अनुमोदन गर्न माग गरिन्छ’, नेपाली कांग्रेसले भनेको छ, ‘यस विषयमा कतिपय सञ्चार माध्यमबाट पार्टी सभापति एवं दलका नेता शेरबहादुर देउवाज्यू र अन्य नेपाली कांग्रेसका कतिपय सांसद तथा नेताहरूबाट आएको भनिएको यस विरुद्धको अभिव्यक्ति भ्रमपूर्ण र कपोकल्पित छ ।’

‘यस सम्झौतालाई यथाशीघ्र सदनबाट अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस रहेको पुनः स्मरण गराउन चाहन्छौं’, नेपाली कांग्रेसले भनेको छ ।

‘माघ ९ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा वर्तमान सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीको संघीयता विरोधी रवैयालाई मतदानका माध्यमबाट यथोचित जवाफ दिन र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानको रक्षाका निम्ति नेपाली कांग्रेसका उम्मेदवारका पक्षमा मदतान गर्न अन्य राजनीतिक दलहरू र मतदाताहरूलाई नेपाली कांग्रेस संसदीय दल आग्रह गर्दछ’, नेपाली कांग्रेसले भनेको छ ।

Published : Friday, 2020 January 17, 5:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया