देउवासँग ओली–दाहालको वार्ता, बालुवाटारसँग कांग्रेस आक्रोशित

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले मुलुकको पछिल्लो राजनीतिक अवस्था, संसदको बैठक र सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग परामर्श गरेका छन् ।

बालुवाटारस्थित आफ्नै सरकारी निवासमा ओलीले शुक्रबार देउवासँग परामर्श गरेका हुन् । बैठकमा नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै दोस्रो तहका नेताहरूको पनि सहभागिता रहेको थियो ।

बैठकमा ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोगको कानून र द्वन्द्वकालीन मुद्धालाई कसरी समाधान गर्ने विषयमा परामर्श गरेको स्रोतले जनाएको छ ।

सभापति देउवाले आफू द्वन्द्वकालीन समस्या र मुद्धाहरू समाधान गर्न तयार रहेपनि पीडितहरूलाई झन् पीडा दिने विषयमा आफू तयार नरहेको सन्देश ओलीलाई दिएका छन् ।

नेकपाका दोस्रो तहका अध्यक्ष दाहालले सत्य निरुण तथा मेलमिलाप आयोगको कानूनलाई छिटोभन्दा छिटो टुंगो लगाएर द्वन्द्वकालीन मुद्धालाई समाधान गर्न ओली र देउवासँग आग्रह गरेका थिए ।

बैठकमा सभापति देउवाले संसदलाई नेकपाले अनिर्णयको बन्दी बनाएको भन्दै असन्तुष्टि पनि जनाएका थिए । देउवाले पहिला संसदलाई चल्ने वातावरण बनाउन ओलीलाई दवाव दिएका थिए ।

बैठकमा नेपाली कांग्रेसका नेताद्वय डा.मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपाबाट सुवासचन्द्र नेम्वा र खिमलाल देवकोटाको उपस्थिति रहेको थियो ।

Published : Friday, 2020 January 17, 1:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया