चितवनमा कांग्रेसले फेरि दियो प्रचण्ड–रेणुलाई झट्का, भत्कियाे कम्युनिस्ट गढ

भरतपुर । भरतपुर महानगरपालिकाको वडा नम्बर ७ नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उपशाखामा नेपाली कांग्रेस निकटका उम्मेदवारहरू विजयी भएका छन् ।

१३औँ अधिवेशनमा नेपाली कांग्रेस निकटका कृष्णप्रसाद ढकाल नेतृत्वको पूरै टिमले जित हासिल गरेको छ । ढकालले ३ सय १६ मतसहित विजयी हासिल गरेका हुन् ।

बिहीबार साँझ आएको मत परिणामअनुसार ढकालको टिमले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका राजाराम पौडेलको समूहलाई नराम्रो गरेर हराइदिएको हो ।

पौडेलले जम्मा १ सय ५० मत पाएका थिए । अध्यक्षमा तीन जना प्रतिस्पर्धी थिए । तेस्रो नम्बरमा रहेका अध्यक्षका उम्मेदवार किरण अधिकारीले ६ मत पाएका थिए ।

नेकपाबाट उम्मेदवार बनेका अध्यक्ष ढकाल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ निकटका हुन् । भरतपुर महानगरपालिका वडा नम्बर ७ मा तत्कालीन एमाले अर्थात नेकपाले जितेको थियो ।

रेडक्रसमा समेत पराजित भएपछि नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष प्रचण्ड र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई तनाब भएको छ ।

नेपाली कांग्रेसबाट विजयी हुनेमा अध्यक्षमा कृष्णप्रसाद ढकाल, उपसभापतिमा पद्मा अम्गाई ढकाल, सचिवमा राजबहादुर खनाल, कोषाध्यक्षमा दिनेशराज ओस्ती, उपसचिवमा रामचन्द्र चालिसे, उपकोषाध्यक्षमा बुद्धिनाथ अधिकारी रहेका छन् ।

सदस्यहरूमा सुजना ढकाल, ईन्दिरा अधिकारी पराजुली, राजेन्द्र पौडेल, उदयकृष्ण अधिकारी र कृष्ण कँडेल पनि विजयी भएका छन् ।

नेपाली कांग्रेसले चितवन जिल्लामा गुमेको आफ्नो बर्चश्वलाई क्रमशः स्थापित गर्दै आएको छ । मिलेर प्रतिस्पर्धीहरूसँग निर्वाचन लड्दा जितिन्छ भन्ने सन्देश चितवनले दिएको छ ।

प्रचण्डले चितवनलाई आफ्नो किल्लाका रुपमा लिन्छन् । तर, स–साना उपभोक्ता समिति, वडा, रेडक्रस जस्ता जनताको प्रत्यक्ष संलग्नता हुने समितिहरूमा प्रचण्डले गुमाउँदै गएका छन् ।

Published : Friday, 2020 January 17, 8:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया