भावुक बने देउवा, मख्ख परे सभापतिहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र असन्तुष्ट समूह निकटका जिल्ला सभापतिहरू घोचपेचसहित बुढानिलकण्ठको डिनर भेटघाट सकारात्मक सन्देश लिएर समापन भएको छ ।

बिहीबार सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा जिल्ला सभापतिहरूसँग परामर्श गरेका हुन् । केही आक्रोशित, भावुक र ठट्यौली शैलीमा जिल्ला सभापतिहरू समक्ष प्रस्तुत भएका देउवाले आफू एक्लै केही नभएको भन्दै जिल्ला सभापतिहरूलाई मिलेर काम गर्न निर्देशन दिए ।

तीन दिनसम्म कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा भेला गरेका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरूसँग ठट्यौली पारामा आक्रोश व्यक्त गरेका थिए ।

असन्तुष्ट समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका जिल्ला सभापतिहरूको तीनदिने भेलापछि बिहीबार बिहान पाँच बुँदे परामर्शपत्र बुझाउन आएका उनीहरूसँगको छलफलमा देउवाले अब राजनीतिमा पाउन केही बाँकी नभएको भन्दै भावुक बनेका थिए ।

सभापति देउवाले म पहिले कुरा राख्छुभन्दै जिल्ला सभापतिहरूसँग आफ्नो असन्तुष्टि राखेका एि  । देउवाले भने, ‘पार्टी कार्यालयमा जम्मा भएर छलफल गर्नुभयो, मलाई किन निम्ता गर्नुभएन ?’

‘निम्ता गर्नुभएको भए म पनि आएर तपाईंहरूका गुनासा सुन्थेँ’, देउवाले जिल्ला सभापतिहरूसँग भनेका थिए ।

‘मसँग चुनाव हारेकाले बोलाउँदा तपाईंहरू आउनुभयो’, देउवाले भने, ‘भोलि जिल्लामा सभापतिको निर्वाचनमा तपाईंहरूसँगै हारेका नेताहरूले बोलाएर यसरी नै छलफल गरे के गर्नु हुन्छ ?’

१३औँ महाधिवेशनमा पराजित पक्षले केन्द्रीय कार्यालयमै जिल्ला सभापतिलाई बोलाएर तीन दिनसम्म छलफल गरेको विषयमा आक्रोसित भएका देउवा बोल्दाबोल्दै भावुक बनेका थिए ।

‘चार–चार चोटी प्रधानमन्त्री भइसकेँ, सभापति भइसकेँ । अब मलाई हुनु केही छैन’, देउवाले भने, ‘भोलि पार्टी चलाउने, धान्ने, अगाडि बढाउने तपाईंहरूले नै हो ।’

जिल्ला सभापतिहरूलाई सम्झाउँदै देउवाले सहमति गर्न तयार रहेको बताएका थिए । ‘मैले समस्या समाधान गर्न नखोजेकोे होइन’, देउवाले भने, ‘अनिर्णयको बन्दी नबनौँ भनेर निर्णय गरेको हो ।’

‘सहमति गर्न अहिले पनि तयार छु । सहमतिमा जे–जे तय हुन्छ कार्यान्वयन गर्न तयार छु’, सभापति देउवाले भने, ‘मुलुकको परिस्थिति हामी अनुकूल छैन । यस्तो वेलामा पार्टीमा एकता गरेरै जानुपर्छ भन्नेमा म सचेत छु ।’

पार्टी केन्द्रमा नै नेताहरूबीच विभाजन रहेको भन्दै जिल्ला सभापतिहरूले सहमति भएपछि मात्रै सरकारलाई सूचना प्रविधि विधेयकलाई सच्याउन प्रमुख जिल्ला अधिकारीमार्फत दबाब दिने कार्यक्रम राख्न आग्रह गरेका छन् ।

जिल्ला सभापतिको तर्फबाट ११ मंसिरमा केन्द्रीय समितिको बैठकबाट अरू पक्षको सहमतिविना महाधिवेशनको कार्यतालिका, विभाग गठन, विधानको महत्वपूर्ण धारा निलम्बन गरिएको भन्दै सहमतिमा अघि बढ्न आग्रह गर्दै काभ्रे सभापति मधु आचार्यले पाँचबुँदे परामर्शपत्र बुझाएका थिए ।

देउवाले पार्टीभित्रै वार्ताको क्रममा उपसभापति विमलेन्द्र निधिले कतिपय कुरा मिलाइसकेको भन्दै बाँकी कुरा पनि मिलाएर जान आफू तयार रहेको बताएका थिए ।

बाँकी अधिवेशनको समय हेरफेर गर्न तयार रहेको भन्दै देउवाले बरु जिल्लाको बाँकी समायोजन काम गर्न जिल्ला सभापतिहरूलाई निर्देशन दिएका छन् ।

भेटघाटमा सहभागी उपसभापति विमलेन्द्र निधिले वार्ताको क्रममा लिपिबद्ध भएका विषयमा हस्ताक्षर गर्न मात्रै बाँकी रहेको बताए ।

महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको निकट वर्ष विधानका केही धारा निलम्बन गर्नुपर्ने व्यावहारिक समस्या भएको बताएका थिए ।

Published : Friday, 2020 January 10, 1:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया