बालुवाटारमा रातोपिरो भए ओली, डा.तुम्बाहाम्फे थुरथुर

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेसँग कुराकानी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार ओलीले दाहाल र डा.तम्बाहाम्फेलाई बोलाएर सभामुख निर्वाचनका विषयमा कुराकानी गरेका हुन् । स्रोतका अनुसार ओलीले उपसभामुख डा.तम्बाहाम्फेलाई सभामुख चयनमा मार्गप्रसस्त गरी सहयोग गर्न निर्देशन दिएका छन् ।

डा.तुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा नदिएपछि रिसाएका प्रधानमन्त्री ओलीले शुक्रबारको भेटमा आक्रोश पोखेका छन् । ओलीले डा.तुम्बाहाम्फेलाई राजीनामा दिएर सभामुख चयनमा सहयोग गरे उपयुक्त स्थान दिने आश्वासन दिएका छन् ।

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बालात्कार प्रयासको आरोप लागेपछि सभामुख पद रिक्त छ ।

सभामुख चयनका लागि पुस ११ गते बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपामा सहमति जुट्न नसक्दा स्थगित गरी पुस १६ गते डाकिएको छ ।
दोस्रो पटक डाकिएको बैठकमा पनि सभामुखमा सहमति नजुटेका कारण स्थगित भएको छ ।

अर्को बैठक आइतबार बोलाइएको छ । त्यस अगाडि सहमति जुटाउन उपसभामुख डा.तुम्बाहाम्फेसँग ओली र दाहालले कुराकानी गरेको स्रोतले जनाएको छ ।

तुम्बाहाम्फे पनि सभामुखका लागि इच्छुक र स्वभाविक दावेदार हुन् । तुम्बाहाम्फेले उपसभामुखबाट राजीनामा दिएर बाटो खोल्ने र उनको व्यवस्थापनबारे बालुवाटारमा वार्ता भएको हो ।

Published : Friday, 2020 January 10, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया