चन्दाको ‘चकचक’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)की प्रतिनिधि सभाकी सांसद चन्दा चौधरीले भारतीय छात्रवृत्ति वितरण गर्दै हिँडेकी छिन् ।

मधेसका नागरिकलाई छात्रवृत्तिको प्रलोभनमा पारेर उनी भारतले दिने छात्रवृत्ति बाँड्ने ठेकेदार जस्तो बनेकी हुन् ।

सरकारबाट समाजवादी पार्टीको बहिर्गमनपछि सत्तारुढ नेकपासँग चुनावी गठबन्धनका नाममा घाटी जोडेको राजपाकी सांसद चौधरीले महोत्तरीको पिपरा गाउँपालिका लगायत अन्य स्थानीय तहमा आफ्नो भारतीय राजदूत र इण्डियासँग राम्रो सम्बन्ध रहेको भन्दै स्थानीयलाई छात्रवृत्ति दिलाइदिने भन्दै सिफारिस गर्दै हिँडेकी हुन् ।

केन्द्रमा राजपाले नेकपासँग राष्ट्रियसभा निर्वाचनका लागि साझेदारी गरेका बेला चुनावी माहोल नजिकिँदै गर्दा स्थानीयलाई भ्रममा पार्ने र आफ्नो उच्च पहुँच छ भन्दै चौधरी ढाट्दै हिँडेकी छिन् ।

जबकी भारतीय दूतावासले प्रदान गर्ने छात्रवृत्ति खुला रुपमा जोकोही योग्यता पुगेका व्यक्तिले आवेदन दिन पाउँछन र निष्पक्ष छनोट हुन्छ ।

राजपाकी सांसद चौधरीले सोझासाझा मधेसी जनतालाई आफैंले छात्रवृति दिने एजेन्टजस्तो गरी सिफारिस गर्दै हिँडेको आरोप लागेको छ ।

पिपरा नगरपालिकाबाट प्राप्त विवरणअनुसार स्नातक र स्नातकोत्तर तहको निःशुल्क शिक्षाका लागि छात्रवृत्ति दिलाइदिने भनेर चौधरीले सार्वजनिक आह्वान नै गरेकी छिन् ।

नगरपालिकाका एक जनप्रतिनिधिले नाम नखुलाउने शर्तमा भने, ‘प्रतिनिधि सभाकी सांसदले आफ्नो पदीय गरिमाको ख्याल नगरी एजेन्ट बनेर भारतीय छात्रवृत्तिका लागि सार्वजनिक आह्वान गर्नु अशोभनीय छ । मधेसका लागि लडेका दलका सांसदले यसरी मधेसी जनतालाई ढाट्नु एकदमै गलत छ ।’

राजपाले चुनावी गठबन्धनसँगै आगामी राजनीतिक सहकार्य गर्ने भनी नेकपासँग गरेको समझदारीसँगै अब हुने सभामुख र उपसभामुख पदको निर्वाचनमा सभामुख नेकपा र उपसभामुख राजपाले पाउने सम्भावना छ ।

जसका लागि राजपाबाट उपसभामुखमा सांसद चन्दा चौधरीकै नाम चर्चामा छ ।

उपसभामुख जस्तो सम्मानित पदका लागि नाम चर्चामा आएकी चौधरीले भारतीय एजेन्ट जस्तो भनेर छात्रवृत्ति दिलाइदिने आश्वास दिनु कतिको जायज हो ? त्यो त्यहाँका जनताले मूल्यांकन गर्ने कुरा हो ।

Published : Friday, 2020 January 10, 9:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया