पौडेल समूह पनि सहमतिको पक्षमा, सभापतिहरुले दिए दवाव

काठमाडौं । असन्तुष्ट समूहको नेतृत्व गरेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट जिल्ला सभापतिहरुको परामर्शबाट आफू उत्साही भएको बताएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बुधबार सम्पन्न जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै पौडेलले असन्तुष्ट जिल्ला सभापतिहरुले लिएको अडानबाट आफू उत्साहित भएको बताएका हुन् ।

‘हाम्रो मागमा जिल्ला सभापतिहरुले समर्थन जनाउनु भयो’, उनले भने, ‘त्यसले हामी थप उत्साहित भएका छौं ।’

पौडेल समूहले पुस ११ गते पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरु खारेज गर्न माग गरेको छ । पौडेल समूहका परामर्श बैठकमा ४३ जिल्लाका सभापतिहरुको सहभागिता रहेको जनाइएको छ । सोमबार, मंगलबार र बुधबार तीन दिन पौडेल समूहको परामर्श बैठक बसेको थियो ।

नेता कृष्णप्रसाद सिटौलाले पनि बहुमतको निर्णय सच्याउनुको विकल्प नभएको बताए । पार्टी महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने भन्दै उनले भने, ‘यसको सुरुवात क्रियाशील सदस्यताबाट हुन्छ । तर ११ गतेको निर्णयले महाधिवेशनको निष्पक्षतामा नै गम्भीर आशंका छ ।’

सभापति शेरबहादुर देउवाले त निर्णय सच्याउन तयार छु भन्नुभएको छ नि भन्ने प्रश्नमा दुबै नेताले यसबारे सभापतिले आफूहरुसँग केही नभनेको बताए । नेता सिटौलाले भने, ‘प्रवक्ता वा पदाधिकारीले भनेर हुँदैन, सभापति आफैंले कुरा गर्नुपर्छ ।’

महामन्त्री डा.शशांक कोइरालाले सभापति देउवा पुस ११ गते गरेका निर्णय सच्याउन तयार रहेको प्रतिक्रिया दिएका छन् ।

सभापतिले निर्णय नसच्याए के गर्ने भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘निर्णय नसच्याए हामी फेरि सोच्छौं र अर्को कदम चाल्छौं ।’ महामन्त्री डा.कोइरालाले अर्को कदम कस्तो हुने हो केही बताएनन् ।

पुस ११ गते सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यसमितिले महाधिवेशनको मिति घोषणा गरी कार्यतालिका सार्वजनिक गरेपछि पौडेल समूह आक्रोशित बनेका थियो ।

Published : Wednesday, 2020 January 8, 8:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया