पार्टी मिलाउन देउवाले देखाए ठूलो छाती, कांग्रेसका युवा नेताहरूको आग्रह स्वीकार

काठमाडौं । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसभित्र देखिएको विवाद अन्त गर्नका लागि पुस ११ गतेको पार्टी निर्णय सच्याउन तयार भएका छन् ।

बहुमतबाट गरिएको निर्णय नमान्ने भन्दै जिल्ला सभापति भेला बोलाएको असन्तुष्ट समूहलाई सहमतिमा ल्याउन सभापति देउवा अग्रसर भएका हुन् ।

असन्तुष्ट समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक, क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा निलम्बन गर्ने र विभाग संख्या बढाउने निर्णय सच्याउनुपर्ने अडान राखेपछि सभापति देउवा सकारात्मक देखिएका हुन् ।

असन्तुष्ट समूह महाधिवेशन अर्को वर्ष फागुन ७ देखि १० गतेकै मितिमा गर्ने केन्द्रीय समितिको निर्णय मान्न तयार भएपनि आन्तरिक कार्यतालिका संशोधन गर्नुपर्ने, क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा निलम्बन गर्ने व्यवस्था हटाउनुपर्ने र भ्रातृसंस्थामा सम्मानजनक हिस्सेदारीको खोजीमा छ ।

पौडेल समूहले आज क्रियाशील बन्ने अनि भोलि मतदाता र उम्मेदवार बन्न पाउने व्यवस्था पार्टी विधि विधान र परम्परा विपरीत रहेको बताउँदै आएको छ ।

नेपाली कांग्रेस बैठकले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ७१ र ५० (५) बमोजिम पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि धारा ४ (२), धारा ४ (१०) (ञ), धारा ४ (१२) (ख), धारा ३५ (२) (घ) र धारा ५०(६) निलम्बन गरेको थियो। विभागको संख्या २८ बाट ४७ पुर्‍याउने, तरुण दलको समयावधि ६ महिना थप गर्ने र नेविसंघका बारेमा कांग्रेसभित्र कुरा मिल्न सकेको छैन ।

पार्टीभित्रको विवाद मिलाउन यतिबेला युवा नेता सक्रिय भएका छन् ।

केन्द्रीय सदस्य एनपी साउद, चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, गुरु घिमिरे, सरिता प्रसाईंलगायतका नेताले पार्टी नेतृत्वलाई भेटेर सहमतिका लागि दवाव दिँदै आएका छन् ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पनि महाधिवेशनको मिति हेरफेर नगरी बाँकी सबै विषयमा सहमति गर्न सभापति सकारात्मक भएको बताए ।

Published : Wednesday, 2020 January 8, 6:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया