कांग्रेस सभापति र महामन्त्रीसँग चिनियाँहरूको गोप्य भेटवार्ता, पार्टीभित्र खैलाबैला

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारलाई साथ दिँदै आएको उत्तरी छिमेकी मुलुक चीनले नेपाली कांग्रेसका शीर्ष नेतृत्वसँग राजनीतिक र व्यक्तिगत सम्बन्ध बनाउन खोजेको रहस्य बाहिर आएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री डा.शशांक कोइरालासँग चिनियाँ राजदूतावास र चीनका विशेष प्रतिनिधिहरूले गोप्य रुपमा अलग–अलग भेटेको उच्च स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका सभापति देउवा र महामन्त्री डा.कोइरालाको सचिवालयले चिनियाँहरूसँगको गोप्य भेटका बारेमा केही भनेको छैन । पार्टी कार्यालयबाट पनि कुनै औपचारिक जानकारी दिइएको छैन ।

स्रोतका अनुसार चिनियाँहरूले सभापति देउवा र महामन्त्री डा.कोइरालालाई खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारसँग सहकार्य गरेर जान र अमेरिकाको मिलेनियम च्यालेञ्ज सहयोग अस्वीकार गर्न दवाव दिएका छन् । नेपाली कांग्रेसले अमेरिकाको मिलेनियम च्यालेञ्ज सहयोग लिनुपर्ने दवाव दिँदै आएको छ । अमेरिकाको सहयोगलाई चीनले रुचाएको छैन ।

नेपाली कांग्रेसमा समानुपातिकबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद एवम् लिटिल एञ्जलस स्कुलका मालिक उमेशलाल श्रेष्ठले चिनियाँ प्रतिनिधिहरूलाई सभापति देउवासँग गोप्य भेट गराएको उच्च स्रोतले जनाएको छ । ‘उमेशलाल श्रेष्ठले सभापति शेरबहादुर देउवालाई चिनियाँ प्रतिनिधिहरूसँग गोप्य रुपमा भेट गराएर चीनतिर झुकाब बनाउन पहल गरेको थाहा पाएका छौँ’, स्रोतले भन्यो, ‘यो राम्रो कुरा होइन । चीन मात्रै नेपालको छिमेकी होइन । चीनको धेरै भरपर्ने आवश्यक्ता छैन । असंलग्न परराष्ट्र नीतिअनुसार नै व्यवहार गर्नुपर्छ ।’

महामन्त्री डा.कोइरालालाई पूर्व राज्यमन्त्री दीपक खड्काले चिनियाँ प्रतिनिधिहरूसँग गोप्य रुपमा भेट गराएका थिए । यो भेटलाई महामन्त्री डा.कोइरालाले पनि बाहिर ल्याएका छैनन् ।

नेपाली कांग्रेसले कुनै पनि छिमेकी मुलुकसँग एकतर्फी रुपमा सम्बन्ध राखेको छैन । चीन र भारत दुबै सीमा जोडिएका छिमेकीहरूसँग समान व्यवहार गर्दै आएको छ ।

तर, नेपाली कांग्रेसका जुनियर नेताद्वय दीपक खड्का र उमेशलाल श्रेष्ठले सभापति देउवा र महामन्त्री डा.कोइरालालाई प्रभावित बनाएर चीनसँग निकट बनाउन खोजेपछि पार्टीभित्र खैलाबैला भएको छ ।

पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कंग्रेसका युवा नेता रोमी गौचनले चीन र भारत दुबैलाई नेपालले पञ्चशीलको आधारमा सम्बन्ध कायम गर्नुपर्ने बताए । ‘चीन र भारतको वीचमा नेपाल छ । हामीले कुनै एक मुलुकको मात्रै समर्थन गर्ने अवस्था रहँदैन’, नेता गौचनले भने, ‘म असंलग्न नीतिको पक्षमा छु । पञ्चायतले शुरुवात गरेको पञ्चशीलको सिद्धान्तको पक्षमा छु । पञ्चायतले चीन र भारतसँग पञ्चशीलको आधारमा कुटनीतिक पहल गरेको थियो । अहिले पनि हामीले कसैको पनि पक्ष वा विपक्ष लिनु हुँदैन ।’

नेपालमा चीनको प्रभाव बढिरहेका बेला चिनियाँ प्रतिनिधिहरूले नेपाली कांग्रेसका शीर्ष नेतृत्वलाई गोप्य रुपमा भेटेर प्रभावमा पार्न खोजेका छन् । भारतले नेपालमा पछिल्लो समय राजनीतिक हस्तक्षेप गर्न केही मत्थर गरेका बेला चीनले काठमाडौंमा आफ्नो राजनीतिक प्रभाव बढाउन थालेको छ ।

संयोग नै मान्नुपर्छ झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका गृहमन्त्री रामबहादुर थापा आइतबार चीन भ्रमणका लागि प्रस्थान गरेका छन् । उनको भ्रमणका बेला पनि चिनियाँहरूले नेपालको राजनीतिका विषयमा कुरा गर्नेछन् ।

चीनले नेपालमा आफ्नो प्रभाव बढाउन विद्यालयहरूमा निःशुल्क चिनियाँ भाषा सिकाउन शिक्षक राख्नेदेखि आर्थिक सहयोग गर्नेसम्मका कार्य गर्दै आएको छ । यो विषयमा कम्युनिस्ट सरकारले आँखा चिम्लिदै आएको छ ।

प्रत्येक दिन नेपालबाट विभिन्न क्षेत्रका व्यक्ति, युवा, राजनीतिक नेता तथा कार्यकता, व्यापारी, पत्रकार, कर्मचारी आदिलाई घुमाउन लैजाने गरेको छ । व्यक्तिको हैसियत हेरेर चीनले भ्रमण भत्तादेखि सेवा सुविधाहरू पनि दिने गरेको छ ।

त्यति मात्रै होइन चीनले आफूलाई तराईका जिल्लाहरूमा पनि सिधै प्रवेश गराउन थालेको छ । नेपालका अधिकांश खानीहरूमा समेत चीनले आफ्नो प्रभाव जमाउन थालेको छ । काठमाडौंको अधिकांश रेष्टुरेन्ट र होटेलहरू चिनियाँहरूले चलाउन थालेका छन् ।

Published : Sunday, 2020 January 5, 3:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया