प्रदेश २ को सरकार धरापमा, मुख्यमन्त्रीका खुट्टा काम्न थाले

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले प्रदेश २ मा मुख्यमन्त्री र राजनीतिक समीकरण परिवर्तनको तयारी शुरु गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग राष्ट्रिय सभाको निर्वाचनका लागि दुई बुँदाको सहमति गरेको राजपाले प्रदेश २ मा पनि समीकरण परिवर्तन गर्न दवाव दिइरहेको स्रोतले जनाएको छ ।

सत्ता समीकरणका लागि नेकपाको प्रदेश २ का नेता सत्यनारायण मण्डलले पनि नेतृत्वलाई दवाव दिँदै आएका छन् ।

प्रदेश २ को मुख्यमन्त्रीका लागि नेकपाका मण्डलले सबैभन्दा धेरै चासो देखाएका छन् । मण्डलले यसअघि नै लालबाबु राउतविरुद्ध विश्वासको प्रस्ताव ल्याएर हटाउने चेतावनी दिइसकेका छन् ।

राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि नेकपा र राजपा मिलेर प्रदेश २ मा सरकार बनाउने तयारी गरेको उच्च स्रोतले जनाएको छ ।

राजपाले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग सहकार्य गरेर प्रदेश २ मा अगाडि बढ्न कठिनाइ रहेको बताउन थालेको छ ।

सत्तामा रहेका बेला समाजवादी पार्टीले राजपालाई धेरै महत्व दिएको थिएन । समाजवादी पार्टीको सोही अहँकारका कारण राजपाले नेकपासँग सहमति गरेको थियो ।

सोही सहमतिलाई आधार बनाउँदै राजपाले पनि नेकपालाई प्रदेश २ मा सरकार परिवर्तनमा दवाव दिएको एक नेताले बताए ।

राजपाले समाजवादी पार्टीको तर्फबाट मुख्यमन्त्री बनेका मो.लालबाबु राउतलाई हटाएर राजपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने तयारीमा लागेको एक नेताले बताए ।

मुख्यमन्त्रीका लागि राजपालाई त्यति सजिलो छैन । नेकपाले सजिलै राजपालाई मुख्यमन्त्री दिनेछैन ।

नेकपाले राजपासँग सत्ता समीकरण भयो भने मुख्यमन्त्री आफूले पाउनुपर्ने अडान राखेपछि विवाद उत्पन्न भएको छ ।

Published : Sunday, 2020 January 5, 10:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया