पौडेलद्वारा सभापति देउवाको आलोचना, बदला लिने घोषणा

भरतपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताएका हुन् । उनले सभापति शेरबहादुर देउवाको आलोचना गर्दै यस्तो तरिकाले पार्टी नचल्ने चेतावनी दिए ।

‘पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन’, उनले भने, ‘मैले प्रस्तुत गरेका सहमतिका बुँदाहरू टुङ्गो लगाउनुपर्छ, अनिमात्र पार्टी एक हुन्छ ।’

नेता पौडेलले पार्टीमा छलफल र सल्लाह गरौँला भन्दाभन्दै सभापति देउवाले एकलौटी रुपमा निर्णय गरेर पेलेको आरोप लगाए ।

पौडल समूहको बहिष्कारका बीच नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले एक वर्ष म्याद थप गर्दै १४ औँ महाधिवेशनको मिति तोकेको थियो ।
‘पार्टीमा केही समस्या छन’, उनले भने, ‘समाधानका लागि मैले ९ बुँदे एजेन्डा प्रस्तुत गरेको थिएँ, त्यसमा छलफल हुँदै गर्दा एकलौटी निर्णय भयो ।’

पौडेलले जीवन्त पार्टीमा साना ठूला विवाद भने भइरहने बताएका छन् ।

उनले पार्टीलाई सुदृढ बनाउन नेता कार्यकर्ताले विकल्प खोज्ने बताएका छन् । ‘म पार्टीलाई सुधार गर्दै जनताको भरोसाको केन्द्र बनाउने मिशनमा छु’, नेता पौडेलले भनेका छन्, ‘विकल्प कार्यकर्ताले खोज्छन् ।’

उनले सभापति देउवाको नाम नलिएर निरंकुश कार्यशैलीको कार्यकर्ताले महाधिवेशनबाट बदला लिने चेतावनी दिए ।

नेतृत्वको असक्षमताका कारणले नै बलियो प्रतिपक्षको भूमिका खेल्न नसकिएको उनले स्वीकार गरेका छन् ।

देशलाई भ्रष्टचारमुक्त र नेपाली कांग्रेसलाई विकृति मुक्त बनाउनुपर्ने पौडेलले बताएका छन् ।

Published : Saturday, 2020 January 4, 6:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया