ओलीका सल्लाहकारका ससुरालाई टिकट, ओली–दाहाल हाबी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनमा भागबण्डा लगाएर आफ् निकटकालाई उम्मेदवार बनाएको छ ।
पूर्वएमाले र पूर्वमाओवादीले भागबण्डामा १६ उम्मेदवार बनाएको हो । पूर्व एमालेबाट ९ र पूर्व माओवादीबाट ७ जना छन् । त्यसमा पनि नेतापिच्छे गुटका

आधारमा भागबन्डा गरिएको छ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले पूर्वएमाले समूहको भागमा परेको ९ मध्ये २ वटा सिट वरिष्ठ नेता माधवकुमार नेपालाई दिएका छन् । अरु सबै ७ वटामा ओलीले आफू निकटकालाई टिकट दिएका छन् ।

नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पनि आफ्नो भागमा ७ मध्ये २ वटा सिट प्रवक्ता नारायणकाजी श्रेष्ठलाई र १ सिट रामबहादुर थापालाई दिएका छन् । ४ वटा सांसद दाहाल आफू निकटकालाई उम्मेदवार बनाएका छन् ।

१८ सिटका लागि हुन लागेको निर्वाचनमा १६ सिटमा जित सुनिश्चितजस्तै भएपछि नेकपामा सयभन्दा बढी आकांक्षी देखिएका थिए ।

प्रदेश १ मा नेकपाले पूर्व एमालेबाट ईन्दु गौतम र देवेन्द्र दाहाललाई उमेदवार बनाएको छ । पूर्व एमालेबाट उमेदवार बनेका दाहाल अध्यक्ष खड्गप्रसाद ओली निकट मानिन्छन् । उनी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा सचिवालयमा जनसम्पर्क सल्लाहकार थिए ।

झापाबाट दुई पटक निर्वाचनमा पराजय व्यहोरेका दाहाल हाल नेकपाको केन्द्रीय सदस्य समेत हुन् ।

पूर्व एमाले समूहबाट उम्मेदवार बनेकी सुनसरीकी गौतम महिला संगठनमा सक्रिय थिइन् । हाल प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई गौतमका ज्वाइँ हुन् ।

पूर्वमाओवादी समूहले यो प्रदेशबाट गोपी अछामी राष्ट्रियसभा उम्मेदवार बनाएको छ । अछामी पहिलो संविधानसभामा निर्वाचित भएका थिए । उनी पूर्व राज्यमन्त्री समेत हुन् । अहिले अछामी नेकपाको केन्द्रीय समिति सदस्य पनि छन् । उनी अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन् ।

प्रदेश २ मा नेकपाले पूर्व एमाले समूहबाट तुलसा दाहाल र पूर्वमाओवादी समूहबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाएको छ । प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सँग तालमेल गरेको छ ।

दाहाल अनेमसंघमा सक्रिय थिइन् । पासवानलाई उम्मेदवार बनाउन दाहाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सिफारिस गरेको सचिवालयका एक नेताले जानकारी दिएका छन् ।

प्रदेश ३ मा पूर्व एमाले नेता बेदुराम भुसाल र पूर्व माओवादीबाट गंगा बेल्बासेलाई यो प्रदेशमा नेकपाले उम्मेदवार बनाएको छ ।

भुसाल नेकपाको स्थायी समिति सदस्य हुन् । उनी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता हुन् ।

भुसाल यसअघि पनि राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार सिफारिस भएका थिए । अन्तिम समयमा आएर उनलाई उमेदवारी फिर्ता लिएका थिए ।

पूर्वमाओवादीबाट उमेदवार सिफारिस भएकी बेल्बासे गत वर्ष निधन भएका नेकपा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डीआर पौडेल पत्नी हुन् । चितवनकी बेल्बासे नेकपाका प्रवक्ता श्रेष्ठ निकट मानिन्छन् ।

गण्डकी प्रदेशमा नेकपाले नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ नेकपाको सचिवालय सदस्य एवं पार्टी प्रवक्ता हुन् । उनी पूर्व माओवादी केन्द्रको उपाध्यक्ष थिए । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग पराजित भएका थिए । श्रेष्ठ पूर्वमन्त्री समेत हुन् ।

पूर्व एमाले समूहबाट उम्मेदवार सिफारिस भएकी न्यौपाने पछिल्लो समय ओली निकट मानिन्छन् । उनी तत्कालीन एमालेको तनहुँ जिल्ला कमिटी सचिव थिइन् । उनी स्थानीय तहको निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । ओलीको विषयमा गीत बनाएर बालुवाटारमा ओलीबाटै बिमोचान गराएबापत न्यौपानेले राष्ट्रिय सभाको टिकट पाएकी छिन् ।

प्रदेश ५ मा नेकपाले पूर्व एमालेबाट विमला घिमिरे र गोपाल भट्टराईलाई उम्मेदवार बनाएको छ । पूर्व माओवादी समूहबाट जगप्रसाद शर्मालाई उम्मेदवार बनाएको छ ।

पूर्व एमाले समूहबाट उम्मेदवार सिफारिस भएकी घिमिरे हाल नेकपाको केन्द्रीय सदस्य हुन् । उनी यसअघि स्थानीय तहको निर्वाचनमा कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । घिमिरे तत्कालीन एमालेको अञ्चल कार्यलय सचिव पनि थिए । उनी ओली निकट नै मानिन्छिन् ।

बुटवलका भट्टराई तत्कालीन एमालेका पुराना नेता हुन् । उनी ओली निकट मान्छिन् । पूर्व माओवादीबाट सिफारिस भएका शर्मालाई अपांगता कोटाबाट नेकपाले उम्मेदवार बनाएको छ । उनी हाल प्रदेश कमिटीका सचिवसमेत हुन् । उनी नेकपामा अध्यक्ष दाहाल निकट मानिन्छन् ।

कणाली प्रदेशमा नेकपाले पूर्व माओवादीबाट मायाप्रसाद शर्मा र पूर्व एमालेबाट सुमित्रा बिसीलाई उम्मेदवार बनाएको छ । शर्मा हाल नेकपाको प्रदेश कमिटीको सचिव हुन् । वरियता नमिलेको असन्तुष्टि जनाउँदै उनले सचिव पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा नेकपाको सचिवालय बैठकले अस्वीकार गर्दै काममा फर्कन निर्देशन दिएको थियो । उनी सचिवालय सदस्य रामबहादुर थापा निकट मानिन्छन् । उनको नाम सिफारिस गर्दा अध्यक्ष दाहाल र श्रेष्ठले गरेको स्रोतको दाबी छ । पूर्व एमालेबाट उमेदवार सिफारिस भएकी बिसी ओली निकट मानिन्छन् । उनी यसअघि अनेमसंघमा पनि काम गरेकी थिइन् ।

सुदुरपश्चिम प्रदेशमा पूर्व एमाले समूहबाट शारदा भट्ट र पूर्व माओवादी समूहबाट तारामान स्वारलाई नेकपाले उम्मेदवार बनाएको छ । भट्ट पूर्व एमालेकी पुरानी नेतृ हुन् ।

उनी नेकपाको प्रदेश कमिटी सदस्य पनि छिन् । उनी नेपाल निकट मानिन्छन् । अछामका तारामान स्वाँर पुराना नेता हुन् । उनी अध्यक्ष दाहाल निकट मानिन्छन् ।

माघ ९ गते राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन सम्पन्न हुँदैछ । त्यसका लागि पुस २० गते उम्मेदवारी दर्ता हुँदैछ ।

राष्ट्रियसभाका १८ जना सांसदहरूको २ वर्षे कार्यकाल सकिन थालेपछि आयोगले ती स्थानका लागि निर्वाचन गर्न लागेको छ ।

Published : Saturday, 2020 January 4, 1:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया