‘धुन्दुकारी’ पौडेल–सिटौला समूह फुट्यो, व्यक्तिगत स्वार्थ छाडेर एक हुँदै कांग्रेस

काठमाडौं । असन्तुष्ट समूहको नेतृत्व गर्दै आएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाका केही नेताहरूले आफ्नै समूहभित्र विद्रोह गर्दै केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा बिहीबार बोलाएको बैठकमा पौडेल–सिटौला समूहका सात जना केन्द्रीय नेताहरू सहभागी भएका हुन् । पौडेल समूहले महाराजगञ्जस्थित महामन्त्री डा.शशांक कोइरालाको निवासमा अलग बैठक बोलाएको थियो ।

पौडेल–सिटौला समूहका सात जना नेताहरू महामन्त्री डा.कोइराला निवास महाराजगञ्जको गुटको बैठकमा सहभागी नभएर पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका हुन् ।

पौडेल समूहका केन्द्रीय सदस्यहरू डा.नारायण खड्का, आनन्दप्रसाद ढुंगाना, चिनकाजी श्रेष्ठ, नरहरि आचार्य, गोविन्द भट्टराई सानेपाको बैठकमा सहभागी भएका छन् ।

सिटौला समूहका केन्द्रीय सदस्यद्वय उमाकान्त चौधरी र शिवप्रसाद हुमागाइँ पनि सानेपाको बैठकमा उपस्थित भएका छन् ।

चौधरीले १३ औं महाधिवेशनमा नेता सिटौलाको समूहबाट कोषाध्यक्ष पदमा उमेदवारी दिएका थिए । हुमागाइँ सिटौला समूहकै कोटामा केन्द्रीय सदस्य पदमा मनोनीत भएका हुन् ।

यसअघि मंसिर २६ गतेको बैठकमा सहभागी भएका पौडेलनिकट मानिने केन्द्रीय सदस्य महेश आचार्य भने बिहीबारको बैठकमा अनुपस्थित थिए ।
उनी पुस ११ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय पुगेका थिए ।

आचार्य बैठक बस्नुअघि नै सानेपाबाट बाहिरिएका छन् । पार्टी कार्यालयबाट बाहिरिने क्रममा उनले पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा पौडेल–सिटौला समूहलाई लक्षित गर्दै पार्टी कार्यालय बाहिर बस्ने बैठक, भेलाले पार्टीहित नगर्ने प्रतिक्रिया दिएका थिए ।

‘मलाई तपाईंहरूले गुटगत बैठकमा कतै पनि देख्नुहुन्न । म यहाँ केन्द्रीय कार्यसमितिको बैठकमा छु’, आचार्यले भने, ‘पार्टीको केन्द्रीय कार्यालयभन्दा टाढा–टाढा बसेर निर्णय गर्दा पार्टीमा पटक–पटक दुर्घटना भएका छन् ।’

‘यहिँ बसेर हामीले निर्णय गर्नुपर्छ’, आचार्यले भने, ‘व्यापक रूपले छलफल गर्दा समस्याको समाधान हुन्छ ।’

केन्द्रीय सदस्य आचार्यले सभापति देउवालाई पनि विधानमा रहेर निर्णय गर्दा विवेक गुमाउन नहुने सुझाव दिएका छन् । ‘हामी लोकतान्त्रिक विधि र विधानकै धेरै कुरा गर्दैछौं’, उनले भने, ‘विधानमा भएको अधिकारको प्रयोग गर्दा विवेक भने गुमाउनु हुँदैन ।’

Published : Thursday, 2020 January 2, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया