कांग्रेसको बद्नाम गर्ने कनोडियासँग रिसाए विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसले उखु किसानको रकम नदिएर दुःख दिने आफ्नै प्रदेश सांसद वीरेन्द्र कनोडियालाई गैरजिम्मेवार नबन्न निर्देशन दिएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश सांसद समेत रहेका आफ्नै पार्टीका नेता कनोडियाका विषयमा आफूहरू गम्भीर रहेको बताएका छन् ।

नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा किसानको रकम नदिने जो कोही राजनीतिक दलको भएपनि कांग्रेसले संरक्षण नगर्ने शर्माले बताए ।

‘प्रदेश ५ को संसदीय दलको उपनेता वीरन्द्र कनोडियाले उखु किसानलाई रकम नदिएको विषयमा सञ्चारमाध्यमहरूबाट हामीले जानकारी पाएका छौँ’, उनले भने, ‘जानकारी पाएपछि पार्टी चुप लागेर बसेको छैन । उहाँलाई सम्पर्क गरेर के निर्देशन दिनुपर्ने हो दिएका छौँ ।’

कनोडिया महालक्ष्मी सुगर मिलका सञ्चालक हुन् । यसअघि उनले यो मिललाई कपिलवस्तुको चन्द्रौटा–कृष्णानगर करिडोरमा राखेका थिए । कपिलवस्तुका थुप्रै किसानलाई पनि कनोडियाले उखुको रकम तिर्न बाँकी छ ।

कपिलवस्तुका उखु किसानलाई पैसा नदिएपछि उनलाई नेपाली कांग्रेसको राजनीति गर्न समस्या भएको थियो । त्यसपछि उनले महालक्ष्मी सुगर मिललाई सर्लाही सारेका हुन् ।

उता, गृह मन्त्रालयले पक्राउ गर्न निर्देशन दिएपछि महालक्ष्मी सुगर मिलका सञ्चालक एवम् कांग्रेसका प्रदेश संसदीय दलका उपनेता कनोडिया वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमा पुगेका छन् ।

आपूर्तिमन्त्री लेखराज भट्टलाई मंगलबार भेटेर कनोडियाले १० दिनभित्र किसानको बक्यौता पैसा फिर्ता गर्ने बचन दिएका छन् ।

कनोडियाले किसानलाई भुक्तानी दिन २१ करोड रूपियाँ बाँकी छ । मंगलबार नै गृह मन्त्रालयले उखु किसानलाई पीडित बनाउने व्यापारी पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

कनोडिया मन्त्रालय आएर पैसा तिर्ने कबुल गरेको मन्त्री भट्टले बताएका छन् । ‘उहाँ आएर २५ गतेभित्रमा सबै पैसा भुक्तानी गर्ने बचन दिएर चिठी लिई फर्किनुभएको छ’, मन्त्री भट्टले पत्रकारहरूलाई भनेका छन्, ‘२५ गतेभित्र भुक्तानी नभए कानून बमोजिम कारबाही प्रक्रियामा जान्छौं ।’

Published : Wednesday, 2020 January 1, 11:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया