पौडेलले देउवालाई सम्झिए, दिए मेलमिलापको संकेत

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ४४औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सभापति शेरबहादुर देउवा र आफूवीच हात मिलाएको तस्वीर फेसबुक पेजबाट सार्वजनिक गर्दै शुभकामना दिएका छन् ।

पार्टीभित्र असन्तुष्ट समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता पौडेलले बुधबार बिहान दुई शीर्ष नेताहरूको तस्वीरमार्फत पार्टीमा मेलमिलापको संकेत गरेका हुन् ।

‘४४औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा, दिदीबहिनी र दाजुभाइहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु’, पौडेलले भनेका छन् ।

‘आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा राष्ट्रिय मेलमिलापको आवश्यकता र महत्व अझ बढेको मैले महशुस गरेको छु’, पौडेलले भनेका छन्, ‘ऐतिहासिक दिनको स्मरणमा मनाइने यो दिवसले हामी नेपालीको आत्मीयता, आपसी सद्भाव, विश्वास र एकता अझ घनिभूत हुने र हाम्रो राष्ट्रियता बलियो हुने विश्वास लिएको छु ।’

पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न असन्तुष्ट समूहले नेता पौडेललाई जिम्मेवारी दिएको छ । पौडेलले सभापति देउवासँग सम्वाद गरेर सहमतिको निकास खोज्नेछन् ।

सभापति देउवाले मेलमिलाप दिवसका अवसर पारेर बुधबार पदाधिकारीहरूको बैठक बोलाएका छन् । तर, असन्तुष्ट समूहले पदाधिकारी बैठक पनि बहिस्कार गर्ने यसअघि जनाइ सकेको छ ।

बिहीबारको केन्द्रीय कार्यसमिति बैठक पनि पौडेल समूहले बहिस्कारको घोषणा गरेको छ । केन्द्रीय कार्यसमितिबाट सभापति देउवाद्वारा गरिएका निर्णयहरू फिर्ताको माग गरेर पौडेल समूहले भेला, छलफल, बहिस्कार लगायतका कार्यक्रम गर्दै आएको छ ।

पौडेल समूहले सभापति देउवाविरुद्ध रणनीति बनाउन पुस २१ गते जिल्ला सभापतिहरूको भेला समेत बोलाएको छ ।

पौडेल समूहले महाधिवेशनको मिति तोक्न माग गर्दै आएको थियो । देउवा समूहले १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि पुनः पौडेल समूह त्यो कार्यतालिका हुँदैन फिर्ता लिनुपर्छ भनेर माग गर्दै आएको छ ।

नेपाली कांग्रेसभित्र शीर्ष नेताहरूमा ६०–४० को भागबण्डामा कुरा नमिलेपछि विवाद भएको जनाइएको छ ।

Published : Wednesday, 2020 January 1, 11:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया