देउवासंग वार्ता गर्ने पौडेल समूहको निर्णय, सानेपामा बैठक

काठमाडौं । नेपाली कांग्रेसमा असन्तुष्ट समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवासँग वार्ता गर्ने भएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा मंगलबार बसेको पौडेल समूहको बैठकले सभापति देउवा र वरिष्ठ नेता पौडेलवीच वार्ता गर्ने सहमति बनाएको हो । दुई शीर्ष नेताहरूवीच हुने सहमतिका आधारमा अगाडि बढ्ने स्रोतले जनाएको छ ।

पौडेल समूहको निर्णयअनुसार अब देउवा र पौडेलवीच मात्रै वार्ता हुनेछ ।

केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्दै आएको पौडेल समूहले केन्द्रीय कार्यसमिति बैठकबाट हालै भएको निर्णय फिर्ता गर्न माग गर्दै आएको छ । पौडेल समूहले देउवालाई विधान विपरित चलेको र एकलौटी रुपमा पार्टी चलाएको आरोप लगाउँदै आएको छ ।

यसअघि सभापति देउवाले आइतबार आफूनिकट नेताहरूसँगको छलफल गरेका थिए ।

छलफलमा देउवाले विभाग, नेविसंघ र तरुण दल गठन तथा विस्तारका लागि सहमति जुटाउने जिम्मा उपसभापति विमलेन्द्र निधिलाई दिएका थिए ।

यसअघि मंगलबार पौडेल समूहको वार्ता टोलीका संयोजक प्रकाशमान सिंहले पत्रकार सम्मेलन गरेर वार्टा अब सभापति देउवासँग मात्रै हुने बताएका थिए ।

पौडेल समूहको बैठकले पुस २१ गते जिल्ला सभापतिहरूको भेला बोलाउने निर्णय गरेको छ ।

जिल्ला सभापतिहरूसँग परामर्श गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

पार्टीभित्रको विवादका विषयमा सुझाव र सल्लाह लिन पौडेल समूहले जिल्लास्तरीय नेता–कार्यकर्ता, सांसद, पूर्वसांसद, केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्यलगायतसँग कुरा गर्ने निर्णय पनि गरेको छ ।

पौडेल समूहले सभापति देउवाले बुधबार बोलाएको पदाधिकारीहरूको बैठकमा सहभागिता नजनाउने निर्णय गरेको छ ।

सभापति देउवाले राष्ट्रियसभा निर्वाचनका लागि उमेदवारको टुंगो लगाउन बुधबार पदाधिकारीहरूको बैठक बोलाएका छन् । बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने जनाइएको छ ।

बुधबारको पदाधिकारी बैठकपछि पुस १७ गते सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । पौडेल समूहले केन्द्रीय कार्यसमितिको बैठक पनि बहिस्कार गर्ने तयारी गरेको छ ।

पार्टी मुख्यालय सानेपामा वरिष्ठ नेता पौडेलको कार्यकक्षमा असन्तुष्ट समूहको बैठक बसेको थियो । यो बैठकमा नेता कृष्णप्रसाद सिटौला थिएनन् ।

बैठकमा वरिष्ठ नेता पौडेलका साथै महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा.रामशरण महत, डा.मीनेन्द्र रिजाल, सरिता प्रसाइँ, कल्याण गुरुङ, चन्द्र भण्डारी, दिलेन्द्र बडू, पदमनारायण चौधरी, गुरु घिमिरे, जीवन परियार, कमला पन्त, दीपक गिरी लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Tuesday, 2019 December 31, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया