दाङमा बारको निर्वाचनमा कांग्रेसका बागीले जिते

घोराही । नेपाल बार एशोसिएसन जिल्ला बार ईकाइ दाङको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

घोराहीमा शनिबार भएको निर्वाचनमा घिमिरेले नेपाली कांग्रेस र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका उम्मेदवार ऋषिराज न्यौपानलेलाई ४ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित घिमिरे नेपाली कांग्रेस निकटको कानून व्यवसायीहरूको संस्था डीएलएबाट विद्रोह गरी बागीमा उम्मेदवारी दिएका थिए ।

नेकपा र नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई घिमिरेले पराजित गरेका छन् ।

१ सय २० मत खसेकोमा घिमिरेले ६२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी ऋषिराज न्यौपानेले ५८ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा घिमिरे प्यानलका मणिराज आचार्य निर्वाचित भएका छन् । आचार्यले न्यौपाने प्यानलका ठाकुरप्रसाद वलीलाई एक मतले पराजित गरेका छन् ।

उपाध्यक्षमा विजयी भएका आचार्यले ६० मत प्राप्त गरेका थिए भने पराजित वलीले ५९ मत प्राप्त गरेका छन् ।

सचिवमा न्यौपाने समूहका सञ्जयकुमार केसी निर्वाचित भएका छन् । उनले घिमिरे समूहका नारायणप्रसाद डाँगीलाई २१ मतले हराएका हुन् ।

केसीले ७० मत ल्याएका छन् भने डाँगीले ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत रेशमराज गिरीले जानकारी दिएका छन् ।

उपाध्यक्षमा दुवै नेकपा निकट कानून व्यवसायी उम्मेदवार थिए । सचिवमा नेपाली कांग्रेस निकट कानून व्यवसायी उम्मेदवार भएका थिए ।

नेकपा र नेपाली कांग्रेसकाका आधिकारिक उम्मेदवार कोषाध्यक्षमा न्यौपाने समूहका ठाकुरप्रसाद गिरी निर्वाचित भएका छन् ।

गिरीले घिमिरे समूहका प्रेमबहादुर वलीलाई १३ मतले पराजित गरेका छन् । गिरीले ६४ मत प्राप्त गरेका थिए । वलीले ५१ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा नेकपा निकट कानूनी व्यवसायीबीच प्रतिस्पर्धा भएको थियो ।

सदस्यहरूमा हरि वेल्वासे, भरत न्यौपाने, निर्मलेश्वरी दाहाल, निर्मला सुवेदी, ओमभक्त डाँगी, अच्युतराज न्यौपाने र नारायणप्रसाद रिजाल निर्वाचित भएका छन् ।

केन्द्रीय पार्षदहरूमा निश्चल हमाल, लुमबहादुर कार्की, नुमानन्द आचार्य, ललितबहादुर केसी, किरण पौडेल, अर्जुनकुमार अधिकारी र गोपाल गिरी निर्वाचित भएका छन् ।

बारमा १ सय २५ मत भएपनि १ सय २० मत खसेको निर्वाचन अधिकृत गिरीले बताएका छन् । बिहान ९ बजेदेखि सुरु भएको मतदान बेलुका ४ बजे सकिएको थियो ।

बारको नेतृत्वको लागि शिवप्रसाद घिमिरेको प्यानल र ऋषिराज न्यौपानेको नेतृत्वमा प्यानल बनाएर चुनावी मैदानमा थिए ।

Published : Saturday, 2019 December 14, 11:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया